काठमाडौँ – प्रतिनिधिसभाको समामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


कूल २७५ सदस्य रहेको प्रतिनिधिसभाको आजको बैठकमा २६८ जना सांसद उपस्थित थिए । जसमध्ये १६७ जनाले एमालेका घिमिरेको पक्षमा मतदान गरे । यस्तै नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेको पक्षमा १०० जनाले मतदान गरे । यस्तै कसैलाई मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।


ADVERTISEMENT

# # #


घिमिरेले पाएको मत संसदको कूल सदस्यसंख्याको बहुमत रहेको भन्दै प्रतिनिसिभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

गत मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नं. २ बाट निर्वाचित घिमिरे यसअघि २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभाको पहिलो यात्रामै घिमिरे संसदको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।

घिमिरेको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतका सांसदले मतदान गरे । यस्तै न्यौपानेको पक्षमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।

घिमिरेको प्रस्तावकमा नेकपा एमालेका उपाधयक्ष सुवासचन्द्र नेम्वाङ रहेका थिए भने समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने समर्थक रहेका थिए ।

यस्तै न्यौपानेको प्रस्तावकमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला रहेका थिए ।

माघ ७ गते प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन हुँदैछ ।