कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित सभागृह प्रयोगविहिन अवस्थामा छ । पाँच वर्ष अघि रु आठ करोड ५१ लाखमा बनेको उक्त सभागृह हालसम्म पनि प्रयोगमा आउन सकेको छैन ।


ADVERTISEMENT


तीनतले सुविधा सम्पन्न सभागृहमा भूमिगत पार्किङको सुविधा छ । सभागृह सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर अन्यत्र निजी हल र होटेल प्रयोग गर्नुपरेको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सभागृह निर्माण गरेको हो । हाल उक्त सभागृह भीमदत्त नगरपालिका मातहत छ । नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह उद्देश्यअनुरुप प्रयोगमा आउन नसकेको बताए ।


ADVERTISEMENT

# # #


‘सभागृहलाई नगरपालिकाले भूमिहिन र सुकुम्बासीको लगत लिने कार्यालयका रुपमा सञ्चालन गरेको छ’, उनी भन्छन्, ‘अब छुट्टै कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी छ ।’

सभागृह सञ्चालनबारे नगरपालिकाले आवश्यक मापदण्ड बनाउन सकेको छैन । करोडौँ रकम खर्चेर निमार्ण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग छ । ‘महेन्द्रनगरमा कुनै कार्यक्रम आयोजना गर्नुपरेमा चर्को शुल्क तिरेर होटेल जानुपर्ने बाध्यता छ’, स्थानीय कृष्ण भट्टले सुनाए।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघामा बनेको उक्त सभागृह अपाङ्गमैत्री छ । सभागृह एक हजार जना अटाउने क्षमताको छ । ‘सभागृहमा अन्य कार्यालय सञ्चालन गरिनु हुन्न’, स्थानिय नरेश पाण्डेय भन्छन्, ‘सभागृहको एकदमै आवश्यकता भएरै निर्माण गरिएको हो ।

विसं २०६५ मा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु छ करोड ८१ लाखमा सभागृह निर्माणको सम्झौता भएको थियो । सम्झौता हुँदाको लागत अनुमान र डिजाइन परिवर्तनपछि ठेक्का रकम बढाइएको थियो । रासस