काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको बैंकिङ क्षेत्रमा नाफा वृद्धिको सकारात्मक संकेत देखिएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउनदेखि असोजसम्मको अवधिमा कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ प्रतिशतले बढी हो ।


ADVERTISEMENT

#


बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफा बढेको छ । केही बैंकले भने गत वर्षको तुलनामा नाफा गुमाएका छन् । समग्र बैंकिङ क्षेत्रको नाफा बढ्दा १० वटा बैंकले पहिलो त्रैमासमै एक अर्ब रुपैयाँभन्दा बढी कमाउन सफल भएका छन् ।

नाफा आर्जनको प्रतिस्पर्धामा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ थियो । यस आधारमा नबिलको नाफा उल्लेख्य रूपमा बढेको छ ।


ADVERTISEMENT

#
#


दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ कमाएको थियो । नबिल र ग्लोबल आइएमईले मात्रै संयुक्त रूपमा करिब ४ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसपटक सबैभन्दा चर्चामा रहेको बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक पनि एक हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा ५८ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ । सरकारी स्वामित्वको बैंकको यो वृद्धिले नाफा आर्जनको प्रतिस्पर्धामा बलियो उपस्थिति देखाएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ४५ करोड ५ लाख रुपैयाँ मात्रै थियो । कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख र एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् । यससँगै अर्बभन्दा बढी नाफा कमाउने बैंकको संख्या १० पुगेको छ ।

अर्कोतर्फ, गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष नाफामा फर्किएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । घाटाबाट नाफामा फर्किनुलाई बैंकको वित्तीय अवस्थामा आएको सुधारका रूपमा हेरिएको छ ।

लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ३३ करोड २३ लाख रुपैयाँको तुलनामा यसको नाफा झन्डै दोब्बर पुगेको छ । प्रभु बैंकले ६४ करोड ७४ लाख रुपैयाँ कमाउँदा सिद्धार्थ बैंकले ८५ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यी दुवै बैंकले पनि गत वर्षको तुलनामा उल्लेख्य प्रगति गरेका छन् ।

यसैगरी, नेपाल बैंकले ८३ करोड २१ लाख, हिमालयन बैंकले ६८ करोड ४८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, नेपाल एसबिआई बैंकले ५५ करोड ८५ लाख र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् । एनआइसी एशिया बैंकको नाफा भने १२ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

तर नाफा वृद्धिको यो चित्र सबै बैंकमा समान छैन । हिमालयन बैंकको नाफा गत वर्षको ७० करोड २९ लाखबाट घटेर ६८ करोड ४८ लाखमा सीमित भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६९ करोड ३९ लाखबाट घटेर ६७ करोड १४ लाख पुगेको छ । एनएमबि बैंकको नाफा १ अर्ब ३० करोड ८५ लाखबाट घटेर १ अर्ब १६ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

समग्र तथ्यांकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा आर्जन क्षमता बढेको देखाए पनि बैंकपिच्छे वित्तीय प्रदर्शन फरक रहेको स्पष्ट पारेको छ । विशेषगरी ठूला बैंकबीच नाफाको प्रतिस्पर्धा तीव्र बन्दा अर्ब क्लबमा प्रवेश गर्ने बैंकको संख्या पनि बढेको छ ।

अब आगामी त्रैमासमा बैंकहरूको नाफा वृद्धिको गति कायम रहन्छ वा रहँदैन भन्ने विषय भने बैंकहरूको कर्जा विस्तार, ब्याज आम्दानी, खराब कर्जाको अवस्था र सञ्चालन खर्च व्यवस्थापनमा निर्भर रहनेछ ।