काठमाडौं – महँगी, शिक्षा र सरकारी खर्च कटौतीको विरोधमा जर्मनीका विभिन्न सहरमा भएको जेनजी नेतृत्वको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् ।

बीबीसीका अनुसार जर्मनीको आर्थिक केन्द्र मानिने फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्यामबर्गमा समेत हिंसात्मक गतिविधि भएका छन् । दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन रात पर्दै जाँदा तनावपूर्ण बनेको थियो ।


ADVERTISEMENT

#


प्रहरीका अनुसार प्रदर्शनकारीहरूले सुरक्षाकर्मी तथा आपतकालीन सेवामा खटिएका कर्मचारीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । हिंसात्मक घटनापछि फ्र्याङ्कफर्टको मुख्य सपिङ सडकको ठूलो क्षेत्र बन्द गरिएको थियो भने केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

‘जेनजी रेगेल्ट’ अर्थात् ‘अब जेनजीले जिम्मेवारी सम्हाल्छ’ भन्ने अभियानको ब्यानरमा हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूले विद्यालयमा बजेट कटौती, बढ्दो महँगी, सरकारी खर्चमा कटौती तथा अनिवार्य सैन्य सेवाको प्रस्तावविरुद्ध आवाज उठाएका थिए ।


ADVERTISEMENT

#
#


प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउनुपर्ने, जीवनयापन सहज बनाउनुपर्ने र सैन्य सेवाको भार युवामाथि जबर्जस्ती थोपर्न नहुने माग गरेका छन् ।

अभियानकी प्रवक्ता लीना फ्रेडरिकले युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा युवाहरू उभिएको बताएकी छन् । शिक्षा र स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने तथा सैन्य सेवाको जिम्मेवारी न्यायपूर्ण रूपमा बाँडिनुपर्ने उनको भनाइ छ ।

फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए । यद्यपि आयोजकहरूले सार्वजनिक गरेको अनुमानभन्दा यो संख्या झन्डै आधा हो ।

जर्मनीमा भएको युवा प्रदर्शन फ्रान्समा देखिएको जेनजी नेतृत्वको आन्दोलनपछि भएको हो । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएको एएफपीले जनाएको छ ।

युरोपका विभिन्न देशमा बढ्दो महँगी, सार्वजनिक सेवामा बजेट कटौती र युवाको भविष्यसँग जोडिएका मुद्दाले युवा असन्तुष्टि बढाइरहेका बेला जर्मनीको प्रदर्शन हिंसात्मक मोडमा पुगेको छ ।