काठमाडौं – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रि‌ओट्स फाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुरले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो।


ADVERTISEMENT


दोस्रो क्वालिफायरमा ललितपुरले भैरहवा ग्लाडिएटरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। भैरहवा बुधबार भएको पहिलो क्वालिफायरमा विराटनगरसँग पराजित भएको थियो। शनिबार हुने फाइनलमा विराटनगरले ललितपुर र भैहरवाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


ADVERTISEMENT

# # #


ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो।

पोखराका लागि इस्राउल्लाहले २५ रनको योगदान दिए। उनले २२ बलमा २ छक्का प्रहार गरे। पुछारका ब्याट्सम्यान सुशन भारी १७ रनमा आउट भए। किशोर महतो २३ रनमा आउट भए। भने ताज अली १० रनमा नटआउट रहे।

खराब सुरुवात गरेको पोखराका ओपनर सुनील धमला २ रनमा आउट भए। लगत्तै आसिफ अलि पनि २ रनमै पवन सर्राफबाट बोल्ड भएका थिए। तेस्रो ओभरमा राजेश पुलामीमगर पनि ४ रनमा आउट भएपछि पोखर संकटमा परेको थियो।

कप्तान शक्ति गौचनले १३ बल खेलेर ८ रन मात्र बनाउन सके। सौरभ खनाल पनि ५ रन बनाएर खेलिरहँदा दिपेश भण्डारीबाट बोल्ड भए। विनोद भण्डारी २ रनमै पेभिलियन फर्के। ६ बल खेलेका भण्डारीलाई सन्दीपले कुशल भुर्तेलबाट क्याच गराए। विक्रम शोव पनि ८ रनमा आउट भए।

बलिङतर्फ ललितपुरका सन्दीप लामिछानेले ३ विकेट लिए। रसिद खान, सनी पटेल र पवन सर्राफले २/२ विकेट लिए। दिपेश भण्डारीले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ‍२० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३८ रन जोड्यो।

ललितपुरका लगि सनी पटेलले नटआउट ३८ रन जोडे। उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, दिपेश भण्डारीले नटआउट १९ रन जोडे। उनले १७ बलमा १ चौका हिर्काए। दिपेश र सनीले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए।

ललितपुरका ओपनर जयकिशन कोल्शावालाले २८ रन जोडे। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनका ओपनिङ पार्टनर शंकर रानाले ३४ रन बनाए। उनले ४३ बलमा ५ चौका हिर्काए। कोल्शावाला र शंकरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल २ रनमा खेलिरहँदा सुशन भारीको एलबिडब्लुको धरापमा पारे। यस्तै कुशल भुर्तेल पनि ८ रनमा इस्राउल्लाहबाट बोल्ड भए। लगत्तै इस्राउल्लाहले शोनु तामाङलाई शून्य रनमा एलबिडब्लु धरापमा पारे।

बलिङतर्फ पोखराका इस्राउल्लाहले ३ विकेट लिए। सुशन भारीले २ विकेट आफ्नो नाममा लेखाएका थिए।