काठमाडौँ – नवनिर्वाचित रामचन्द्र पौडेललाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नयाँ राष्ट्रपति बनेका थिए । पौडेल व्यक्तिका हिसाबले नेपालको तेस्रो र कार्यकालका हिसाबले चौथो राष्ट्रपति बनेका हुन् ।

२१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका पौडेलले कूल ३३ हजार ८०२ मतभार पाएका थिए । नेपाली काँग्रेससहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले मत दिएका थिए ।

उनका प्रतिद्वन्द्वी नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् । उनलाई नेकपा एमालेले एमालेका मतदाताले मात्रै मत दिएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी निर्वाचनमा सहभागी भएनन् । यस्तै संघीय सांसदहरु काँग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान उपचारका क्रममा देश बाहिर भएकाले मतदानमा सहभागी हुन पाएनन् । काँग्रेसकै सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनले पनि मत दिन पाएनन् ।