– देवराज अर्याल


ADVERTISEMENT


आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रसङ्गले यतिबेला नेपालको राष्ट्रिय राजनीति तातिन पुगेको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसंगै एकातिर ठूला क्याम्पसहरुमा उम्मेदवारी चयनमा समस्या देखिएको छ भने अर्कोतिर फरक–फरक संगठनहरुका बीचमा झडप र मुडभेठका घटनाहरु बढ्न थालेका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच प्रमुख राजनीतिक दलहरुले स्वावियु निर्वाचनलाई पार्टीगत हारजितको प्रतिष्ठा बनाएर जबजस्त जनचासोको मुद्दा बनाएरहेका छन् । वास्तवमा विद्यार्थी राजनीतिको प्रत्यक्ष सम्बन्ध देशका प्रमुख राजनीतिक दलहरुसंग सिधा–सिधा रुपमा जोडिने भएकोले स्ववियु निर्वाचनले यतिबेला आवश्यकता भन्दा बढी महत्व पाएको र त्यसले गर्दा स्ववियु निर्वाचनको प्रसङ्गले राष्ट्रिय राजनीति तातिन पुगेको हो ।

अहिले नेपालमा ११ वटा विश्वविद्यालयहरु सञ्चालनमा रहेका छन् । स्ववियु निर्वाचन सबै विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुनुपर्ने हो । तर, ११ वटा विश्वविद्यालयहरुमध्ये आंज्ञिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसको संख्या त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै भएकाले विद्यार्थी युनियनको निर्वाचन प्रसङ्ग पनि त्रिविअन्तर्गतका क्याम्पसहरुमा नै केन्द्रित भएको छ । त्रिभुवन विश्वविद्यालयमा अहिले ६० वटा आंज्ञिक क्याम्पस र १०८४ वटा सम्बन्धन प्राप्त क्याम्पसहरु रहेका छन् । साथसाथै नेपालका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भार पनि त्रिभुवन विश्वविद्यालयले नै वहन गर्दै आएको छ । यसअर्थमा स्ववियु निर्वाचनको चर्चा–परिचर्चा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ठूला क्याम्पसहरुमा केन्द्रीत हुनु स्वाभाविक हो ।

स्ववियु निर्वाचनको प्रसङ्गमा अहिले मूलभूतः रुपमा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, आरआर क्याम्पस प्रदर्शनीमार्ग, पीएन क्याम्पस पोखरा, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर, शंकरदेव क्याम्पस पुतलीसडक, पदमकन्या क्याम्पस बागबजार, महेन्द्ररत्न ताहाचल, नेपाल कमर्श मीनभवन, मेडिसिन क्याम्पस महाराजगंज, अमृत साइन्स क्याम्पस लैनचौर, सरस्वती क्याम्पस ठमेल, महेन्द्र मोरङ विराटनगर, इन्जिनियरिङ क्याम्पस पुलचोक, पाटन संयुक्त क्याम्पस पाटन, मेची क्याम्पस झापा, महेन्द्र क्याम्पस धरान, वीरेन्द्र क्याम्पस चितवन, सानोठिमी क्याम्पस भक्तपुर र भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर लगायतका क्याम्पसहरुको निर्वाचन सर्वाधिक चासोको विषय भएको छ । उल्लेखित क्याम्पसहरुमा विद्यार्थी संख्या धेरै भएको र त्रिविकै महत्वपूर्ण क्याम्पस भएकाले स्वाभाविक रुपमा विद्यार्थी संगठनहरुले यसलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् । जसले गर्दा निर्वाचनको सम्मुखमा आउँदा ठूला क्याम्पसहरुमा नसोचिएका र कल्पना नगरिएका अपनेक्षित घटनाहरु घटिरहेका छन ।

स्ववियु निर्वाचनको क्रममा धेरै क्याम्पसहरुमा निर्वाचनका प्रक्रियाहरु स्वाभाविक रुपमा नै अगाडि बढेका छन् । तर, केही क्याम्पसहरुमा भने उम्मेदवारी दर्ता गर्ने प्रक्रियादेखि नै लफडाबाजी सुरु भएको छ । यसक्रममा आम विद्यार्थी र निर्वाचनका लागि खटिएका कर्मचारी एवं प्राध्यापकहरुलाई लाठी, मुङ्ग्री र खुकुरी देखाई तर्साउनेसम्मका घटनाहरु पनि भएका छन् । निर्वाचनको वातावरणलाई आतंकित र अन्योलमय बनाउने जस्ता गतिविधि पनि भइराखेका छन् ।

तथापि, सम्बन्धित निकायले वातावणलाई सामान्य बनाउने र शान्तिपूर्ण अवस्थामा निर्वाचन हुन्छ भन्ने विश्वासको सुनिश्चितता गर्नतर्फ भने ध्यान दिएको पाइँदैन । यस सन्दर्भमा सरकारको मौनता रहस्यम रुपमा प्रकट भएको छ भने सुरक्षा निकायले पनि सुरक्षाको पूर्णतः प्रत्याभूति दिन सकेको छैन । जसले गर्दा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नै व्यर्थ हो भनी पूर्वधारणा राख्नेहरुलाई बल पुग्न गएको छ । र, स्ववियु निर्वाचनको औचित्यता र आवश्यकतामाथि प्रश्न उठ्ने वातावरण उत्पन्न भएको छ । यसतर्फ राजनीतिक दलहरु पनि चनाखो हुन जरुरी छ ।

क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फगत राजनीति गर्ने अभ्यास मात्र होइन, यो निर्वाचन त क्याम्पसहरुमा स्वच्छ शैक्षिक वातावारण निर्माणका लागि विद्यार्थीहरुको आवाज भेण्टिलेट गर्ने उपयुक्त प्लेटफर्म निर्माण गर्ने बलियो आधार हो । साथसाथै स्ववियु निर्वाचन आम विद्यार्थीहरुका लागि सिर्जनात्मक र रचनात्मक प्रतिभा एवम् क्षमता प्रदर्शन गर्न पाउने अवसर पनि हो । स्ववियु निर्वाचनमा विद्यार्थीहरुको सहभागिताले भोलिका दिनमा विद्यार्थीहरुमा नेतृत्व गर्ने क्षमताको विकास गर्न मद्दत गर्दछ ।

विद्यार्थीका हक हित, अधिकार र समस्याका विषयलाई ठीक ढंगले उठान गर्ने क्षमताको विकास पनि गर्दछ । जसको परिणामस्वरुपः समाजमा राजनीतिक चेतनाको विस्तार र प्रवाहमा सकारात्मक भूमिका निर्वाह गर्ने आधार निर्माण गर्दछ । त्यसले गर्दा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्वतन्त्र, मर्यादित र भयरहीत निर्वाचनको अवधारणाअनुरुप नै कार्यान्वयनमा लैजानु आवश्यक छ । अन्यथा, यसलाई भड्किलो बनाउने, आतंकमय बनाउने र राजनीतिक दलहरुको सिधा हस्तक्षेप हुने थलोको रुपमा प्रयोग गर्ने हो भने त्यस्तो व्यवहारले स्ववियु निर्वाचनको मर्ममाथि नै प्रहार हुने र स्ववियुको आधारलाई क्षतविक्षत बनाउने परिस्थिति सिर्जना गर्दछ ।

हिजो पञ्चायतकालीन राजनीतिक प्रणाली रहँदा स्वतन्त्र विद्यार्थी युनियनको भूमिका निकै प्रभावकारी र उल्लेखनीय रहेको थियो । खासगरी राजनीतिक चेतना जागृत गर्ने सन्दर्भमा र विद्यार्थीहरुको हक हित र अधिकारको सुनिश्चितता तथा समस्याहरुलाई उजागर गर्ने सन्दर्भमा स्ववियु लगायतका संस्थाहरुले अविष्मरणीय योगदान पुर्याएका थिए । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहालीको पक्षमा जनमत निर्माण लागि स्ववियुको तर्फबाट निर्वाह भएको भूमिका एकदमै सशक्त र प्रभावकारी थियो । राजनीतिक दलहरु भूमिगत रहनु पर्ने बाध्यात्मक अवस्थामा स्ववियु निर्वाचनको प्रसङ्गले प्रजातान्त्रिक धारको राजनीतिलाई गतिशील बनाउन प्राणवायु कै भूमिका निर्वाह गरेको थियो । तर, अहिले तत्कालीन व्यवस्थामा बदलाव आएको छ ।

यो परिवर्तित राजनीतिक वातावरणमा स्वतन्त्र विद्यार्थी युनियनलाई परम्परागत अवधारणामा अब अगाडि बढाउन सक्ने अवस्था छैन । त्यसैले समय सान्दर्भिक नयाँ भूमिकामा स्वतन्त्र विद्यार्थी युनियनलाई रुपान्तरित गरेर लैजानु आवश्यकता देखापरेको छ । यसका लागि हाल क्रियाशील विद्यार्थी संगठनहरुले सहकार्यका आधारमा नयाँ कार्यक्रमिक खाका र योजना तर्जुमा पर्ने हुन्छ ।

परिवर्तित वातावरणमा नयाँ कार्यक्रमिक खाका र योजना कुनै एउटा विद्यार्थी संगठनले मात्रै ल्याउन सक्ने अवस्था हुँदैन । यसका लागि त साझा र संयुक्त समझदारी एवं सहमतिको आधार बनाउनु पर्ने हुन्छ । यसका लागि विद्यार्थीहरुमाथि राजनीतिक दलहरुको सिधा रुपमा हुने गरेका बाझेपञ्जारुपी हस्तक्षेपबाट मुक्त हुने वातावरणको आवश्यकता महसुस भएको छ ।

स्ववियु निर्वाचन हुँदै गर्दा अहिले जे जस्तो रुपमा असहज प्रकृतिका हुलहुज्जत र मारमुङ्ग्रीका घटनाहरु भइरहेका छन्, यसका पछाडि अन्तप्रवाहमा राजनीतिक दलहरुको भूमिका रहेको छ । राजनीतिक दलहरुले स्ववियु निर्वाचनमा जसरी पनि आफ्नो निकटमा रहेको भातृ संगठनको विद्यार्थी संगठनलाई जिताउनु पर्छ भन्ने रणनीति बनाएको हुनाले यस्ता प्रकृतिका घटनाहरु भइरहेका छन् । यसकानिम्ति भित्री रुपमा सत्ता र शक्तिको पनि दुरुपयोग भइरहेको छ । राजनीतिक दलहरु विद्यार्थीहरुमा आफ्नो पकड छ भन्ने सन्देश दिएर आ–आफ्नो प्रभुत्व कायम गर्न चाहन्छन् । विश्वविद्यालय, क्याम्पस र कलेजको वातावरणलाई आफ्नो अनुकूल अनुसार संचालन गर्न चाहन्छन् । जसले गर्दा आज समग्र विश्वविद्यालय अति राजनीतिकरणको नियतीमा अस्तव्यस्त बन्न बाध्य भएको छ ।

यथार्थ धरातलमा रहेर विश्लेषण गर्दा विश्वविद्यालय र क्याम्पसमा अध्ययन गर्ने अहिलेका विद्यार्थीहरु आफै हुलहुज्जत र मारमुङ्ग्रीमा उत्रिएका छैनन् । विज्ञान र सूचना प्रविधिको क्षेत्रमा आएको सर्वाधिक विकासको घटना र त्यसको प्रयोगका कारणले गर्दा अधिकांश विद्यार्थीहरु अध्ययनशील छन् । केही नयाँ कुराको जानकारी लिने र अवसरहरुको खोजीमा गर्ने सोचाइमा छन् । यसका लागि उनीहरुले स्वच्छ, शान्तिपूर्ण र सुरक्षित शैक्षिक वातावरणको सुनश्चितता चाहिरहेका छन् । त्यसैले विद्यार्थीहरु आफै हुलहुज्जतमा उत्रिएका होइनन् । बरु सम्बन्धित क्याम्पसमा अध्ययन नगर्ने तर विद्यार्थीको नाममा आफूलाई राजनीतिमा देखाइरहन पर्ने जमातबाट यस्ता घटनाहरु भइरहेका छन् ।

यस्तो जमातलाई मलजल गर्ने काम राजनीतिक दलहरुबाटै भइराखेको छ, जसले गर्दा स्ववियु निर्वाचनको प्रक्रिया नियमित र स्वाभाविक रुपमा अगाडि बढ्न सकेको छैन । घटनाहरु अनपेक्षित रुपमा घटिरहेका छन् । जसले गर्दा क्याम्पसहरुको वातावरण अन्योल, डरमर्दा र भययुक्त बनिरहेको छ । जुन शैक्षिक संस्थाका लागि आफैमा घातक छ ।

राज्य सञ्चालन गर्छु भनेर दायित्व बोकेर आएका राजनीतिक दल र सरकारले यो पक्षलाई गम्भीरताका साथ लिनु पर्दछ । यसैगरी परम्परागत सोच र ढर्राबाट अगाडि आएका विद्यार्थी संगठनहरुले पनि अहिलेको आम विद्यार्थीको भावना, प्रवृति, क्षमता र बदलावको गतिलाई आत्मसात गरी नयाँ भूमिकाका साथ आफूलाई रुपान्तरण गरेर आउन सक्नु पर्दछ । अन्यथा, स्ववियु निर्वाचनको औचित्यताको सन्दर्भमा प्रश्न उठाउनेहरुको भीड बढ्दै नजाला भन्न सकिँदैन ।