काठमाडौं – तृतराज दासको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रन बनाए । ५५ बलको सामना गरेका उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले मोइन अलीसँग पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । मोइनले १६ बलमा २१ रन जोडे ।
त्यस्तै, अभिषेक तिवारीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । सैफ हसले १, कप्तान हर्मीत सिंहले ९, जिम्मी निशमले ११ तथा अमरसिंह रौटेला र अनिलकुमार शाहले समान ९ रन बनाए ।
पोखराका बलरमध्ये शाकिब अल हसन सर्वाधिक सफल रहे । उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले समान एक विकेट हात पारे ।
अब १४८ रनको लक्ष्य पछ्याउँदै पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा मैदान उत्रिनेछ । यसअघि एक खेलमा पराजित भएको पोखरा जितको खोजीमा रहँदा एक खेल जितेको र एक खेल हारेको जनकपुर भने दोस्रो जितको लक्ष्यमा हुनेछ ।


























