हेटौँडा – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले मकवानपुरको वैकुण्ठ क्षेत्रलाई खेल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्।
वैकुण्ठमा रहेको प्राकृतिक सौन्दर्य, भौगोलिक बनावट र सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्न सके यस क्षेत्रलाई खेल पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको धारणा छ। बानियाँले वैकुण्ठको सम्भावनालाई केवल स्थानीय पर्यटनमा सीमित नराखी खेलकुदसँग जोडेर आर्थिक तथा सामाजिक विकासको आधार बनाउनुपर्ने बताएका छन् ।
खेल पर्यटनले स्थानीय क्षेत्रको पहिचान स्थापित गर्नुका साथै रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ छ।
वैकुण्ठको प्राकृतिक तथा भौगोलिक विशेषतालाई पहिचान गरी सम्भाव्य खेल विधिको अध्ययन, खेल पूर्वाधार निर्माण र नियमित खेल गतिविधि सञ्चालन गर्न सके यस क्षेत्रले नयाँ पर्यटकीय पहिचान बनाउन सक्ने विश्वास गरिएको छ। खेलकुद प्रतियोगिता, साहसिक खेल तथा पर्यटकीय गतिविधिलाई एकीकृत रूपमा अघि बढाउन सके वैकुण्ठको विकासमा नयाँ आयाम थपिन सक्छ।
राजनीतिक तथा सार्वजनिक जीवनमा सक्रिय बानियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अत्यधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। महाधिवेशनमा उनले तेस्रो स्थान हासिल गरेका थिए। उनी नेपाली कांग्रेस बागमती प्रदेशका पूर्वसभापति तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।
बागमती प्रदेशको नेतृत्व गरिसकेका बानियाँले वैकुण्ठको सम्भावनालाई खेल पर्यटनसँग जोडेर अघि सारेको अवधारणाले यस क्षेत्रको दीर्घकालीन विकास, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक समृद्धिका विषयलाई पुनः चर्चामा ल्याएको छ।


























