काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा प्रधानमन्त्रीले प्रचण्डले प्रतिनिधिसभाका सांसदको विश्वास जित्न सफल भएका हुन् ।


ADVERTISEMENT


कूल २७५ सदस्य रहेको प्रतिनिधिसभामा आज २६२ जना सांसद उपस्थित रहेका थिए । जसमध्ये आफूलाई विश्वासको मत प्रदान गरियोस् भनी प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा १७२ जना सांसदले मतदान गरेका हुन् । उनको प्रस्तावको विपक्षमा ८९ मत पर्यो भने तटस्थमा १ मत परेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायम रहेको कूल सांसदको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास मत प्राप्त गरेको घोषणा गरे । प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान गरे । माओवादी अध्यक्ष प्रचण्डलाई गत पुस १० गते एमालेसहितका ७ दलको समर्थनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यसपछि पुस २६ गते प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनसहित काँग्रेस, एकीकृत समाजवादी लगायतका ९९ प्रतिशत भन्दा बढी सांसदबाट विश्वासको मत पाएका थिए ।

तर, सरकारबाट बाहिरिँदै एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत्र १२ गते दिउँसो १ बजे बस्नेछ ।