काठमाडौँ– सरकारले स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका हुन् ।
उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको पनि जनाए ।
प्रचण्ले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिवद्धता रहेको जानकारी दिए । वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले प्रविधिमैत्री सरकार र नेतृत्वको सकारात्मक भूमिका एवं पहलबाट मात्रै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको धारणा राखे ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले नागरिकहरु निराश भइरहेको भन्दै सरकार सजक हुनुपर्ने बताए । अहिले कुर्सीमा बसेका प्रधानमन्त्री डराउनुपर्ने भन्दै प्रधानमन्त्री डराए नागरिक डरबाट मुक्त हुने उनले जनाए नागरिकको स्वतन्त्रतासँग हरेक सरकार त्रसित हुने गरेको उल्लेख गर्दै उहाँले नागरिकको स्वतन्त्रताका बारेमा सञ्चारमाध्यम सचेत हुनुपर्ने थापाको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामुदायिक रेडियोको दिगोपनाका लागि राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै रेडियोमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।