डा. अनुज पराजुली : जनरल एवम् कोलेरेक्टल सर्जन, ह्याम्स अस्पताल ।
‘पेरिएनल फिस्टुला’ भन्ने बित्तिकै यसले शरीरको असामान्य अवस्थालाई जनाउँछ । जसमा विभिन्न कारणवश हाम्रो शरीरको मलाशयसंगै रहेको सामान्य नली∕मार्ग बाहिरी भागको छालासंग जोडिन पुगी यसले व्यक्तिमा दिसा बस्दा वा पाद्दा(मलद्धार∕गुद्धार हुँदै शरीरबाट ग्याँस बाहिर निस्कने प्रकृया) पीडा उत्पन्न गराउनुका साथै बस्दा तथा हिँडडुल गर्दा समेत दुखाईको महशुस गराउँछ र यसलाई नै चिकित्सा क्षेत्रअन्तर्गत ‘पेरिएनल फिस्टुला’भनिन्छ ।
अर्को शब्दमा भन्नुपर्दा, कहिलेकाहिँ विभिन्न कारणवश एनल क्यानल (मलद्धार मार्ग) मा भएका स–साना ग्रन्थीहरु दिसा वा म्युकस(सिगाँनजस्तो चिप्लो पदार्थ) अड्किएर बन्द भइदिँदा त्यसले उक्त भाग वरपर संक्रमण पैदा गराउँछ र कालान्तरमा सोहि संक्रमणले मलद्धार वरपरका भागहरुमा पिप जमेर स–साना खटिरा अर्थात् पिलोको रुप लिन्छ । शरीरको भित्री भागमा बनेको सो पिलो शरीर बाहिर निस्कने क्रममा मलद्धार वरपरको भागमा आएर टाँसिएर बस्छ । यसपश्चात् उक्त पिलोको वरपर बन्ने मार्गलाई नै पेरिएनल फिस्टुला भनिन्छ ।
झण्डै ९० प्रतिशत व्यक्तिहरुमा पेरिएनल फिस्टुलाको शुरुआत मलद्धार वरपरका भागहरुमा पिलोजस्ता देखिने सोहि खटिराबाट शुरु हुन्छ । फिस्टुलाको साझा प्रकार मानिने यस समस्याअन्तर्गत उक्त खटिराहरु दिसा बस्दा फुट्ने र त्यसबाट पिप तथा रगत बग्ने भएकाले यसले दिसा बस्दा व्यक्तिमा अधिक पीडा उत्पन्न गराउँछ ।
यसका कारणहरु
मलद्धार∕गुद्धार वरपर रहेको गोलो (औँठी) आकारको मांसपेशी लाई ‘स्फिन्टर’ भन्निछ । बाह्य एवम् भित्री दुवै भागमा रहने सो मांसपेशीको मुख्य काम भनेको दिसा रोक्नु हो । तर, विविध कारणवश यसै स्फिन्टरमा देखिने असामान्य स्थितिले नै व्यक्तिमा फिस्टुलाको समस्या उत्पन्न गराउँछ । जसका निम्ति निम्न पक्षहरु प्रमुख कारक तत्वको रुपमा देखापर्दछः
– मलद्धार वरपर देखिने स–साना पिलो (Perianal Abscess)
– क्रोन्स डिजिज (Crohn’s Disease)
– क्यान्सरका बिरामीमा दिइने रेडियसन-विकिरण (Radiation)
– लड्दा शरीरमा लागेका चोटपटक एवम् घाउका कारणवश देखिने बाह्य अवरोध(Trauma)
– क्षयरोग-(Tuberculosis)
– यौनजन्य रोग एवम् संक्रमण (Sexually transmitted disease)
यसका लक्षणहरु
कुनै पनि समस्या बिग्रिनु अघि नै त्यसका लक्षणहरुले हामीलाई सो रोगतर्फ संकेत दिईसकेको हुन्छन । पेरिएनल फिस्टुला भएमा निम्न लक्षणहरु देखापर्दछन ।
–मलद्धार वरपर चिलाउनु
–मलद्धार वरपर दुखाई महशुस हुनु ,बस्दा, हास्दा, खोक्दा, पाद्दा एवम् हिँडडुल गर्दा थप पीडा हुनु
–मलद्धार वरपर बाट दुर्गन्धित पदार्थ निस्किनु
–पाद्दा वा दिसा बस्दा रक्तश्राव हुनु
–मलद्धार वरपरका भागहरु सुन्निएर रातो भई तात्तिनु
–कतिपय अवस्थामा दिसा चुहिनु र पाद रोक्न नसक्नु ।
पेरिएनल फिस्टुलाका प्रकार
पेरिएनल फिस्टुला भएका व्यक्तिहरुको अवस्थाको पहिचान एवम् सहज उपाचारको निक्ति यसलाई चिकित्सा क्षेत्रअन्तर्गत विशेषतः चार भागमा वर्गीकरण गरिएको छ ।
१. इन्टरस्फिनटेरिक (Intersphincteric) :
बाह्य एवम् भित्री दुवै मांसपेशीहरु एक–आपसमा जोडिन पुगेको अवस्था ।
२. ट्रान्सफिन्टेरिक (Transphincteric) :
दुवै मांसपेशीहरुलाई छेडिएर दिसा जाने अवस्था ।
३. सुप्राफिन्टेरिक (Suprasphincteric) :
दिसा स्फिन्टरभन्दा माथिबाट जाने अवस्था ।
४. एक्स्ट्रा स्पिेन्फेरिक (Extra-sphincteric) :
सामान्य मार्गभन्दा अन्य मार्गबाट नै दिसा जाने अवस्था ।
शल्यक्रियापछि दिसा चुहिनु र फेरि बल्झिनुको कारण
आम जनमानसमा फिस्टुलाको शल्यक्रियापछि पुनः सोहि समस्या वा दिसा चुहिने समस्या देखापर्छ भन्ने गलत धारणा हाबी भएको पाइन्छ । सामान्य अवस्थाको फिस्टुला शल्यक्रियामा व्यक्तिको दिसा जाने मार्गलाई खोलिन्छ । यसक्रममा व्यक्तिको स्फिन्टर काटिएको खण्डमा मात्रै सो मार्गबाट व्यक्तिको दिसाहरु आफैँ जाने∕चुहिने र पाद रोक्न नसकिने समस्या देखापर्छ ।
यस्तै, फिस्टुलाको मार्गलाई प्राइमरी र सेकेन्डरी ट्रयाक गरी दुई भागमा विभाजित गरिएको छ । जसमध्ये सेकेन्डरी ट्रयाक अन्तर्गत अगाडीको फिस्टुला सहजै शल्यक्रिया गर्न सकिएता पनि पछाडिको फिस्टुलामा प्राइमरी ट्रयाक नै बागिँएर घुमेर जाने वा हाँगाहरु धेरै फैलिने हुँदा यस्ता व्यक्तिमा फिस्टुला पुनः देखापर्ने सम्भावना अधिक रहन्छ ।
अन्यथा फिस्टुला शल्यक्रिया गरेको सबै व्यक्तिमा यी समस्या देखापर्छ नै भन्ने हुदैँन र यस्ता समस्याको सम्भावना मुख्यतयाः पराम्परागत रुपमा गरिदैँ आएको ‘कन्भेशनल अप्रेशन’ मा मात्रै उच्च रहन्छ ।
समाधान विकल्प : परम्परागत प्रक्रियाभन्दा स्फिन्टर विधि उपयुक्त
बढ्दो प्रविधिकरणसंगै पराम्परागत शल्यक्रियाको विकल्पको रुपमा स्फिन्टर सेभिङ्ग सर्जरी आइसकेको छ । जसमा रहेको लिफ्ट (LIFT) सर्जरीमा दिसा नियन्त्रण गर्ने सो बाह्य एवम् भित्रि मासुको भागमा गई व्यक्तिमा समस्या बल्झाएको ट्रयाकलाई नै काटिन्छ । जसले गर्दा व्यक्तिमा दिसा चुहिने समस्याको सम्भावना एकदमै न्युन हुन्छ । यस्तै, यस माध्यमबाट शल्यक्रिया गरिएको व्यक्तिहरु झण्डै ६० देखि ९० प्रतिशत पुनः फिस्टुलाको बल्झिने समस्याबाट समेत मुक्त भएको पाइएको छ । तसर्थ व्यक्तिले यस किसिमको शल्यक्रिया गराउँदा सम्बन्धित विज्ञबाट नै गराउनुपर्छ ।
यस्तै, फिस्टुलाको निम्ति ग्लू एवम् प्लग समेत प्रयोग गरिएको हुन्छ । हाल इन्डोस्कोपी∕भाफ्ट-भिडियो असिस्टेन्ट एनल फिस्टुला ट्रिटमेन्ट (VAAFT) एवम् लेजर सर्जरी (Laser) जस्ता स्फिन्टर सेभर सर्जरीका नयाँ-नयाँ प्रविधिहरु आएका छन् । जसलाई हामीले निम्न तवरबाट बुझ्न सकिन्छः
१ इन्डोस्कोपी∕भाफ्ट सर्जरी (VAAFT)
यस अन्तर्गत सर्वप्रथम क्यामेराको सहायताबाट फिस्टुलाको ट्रयाक कता–कता फैलिएको छ त्यसको पहिचान गरिन्छ । उक्त संरचनाको पहिचानपश्चात् त्यहाँ भएका फोहोरलाई सफा गरी सो ट्रयाकहरुलाई डढाएर बन्द गरिन्छ । यसमा भित्रसम्म बनेका अन्य बाटोहरु र फिस्टुलाको भित्रि प्वाल स्पष्ट देखिने भएकोले यस विधिलाई अरुभन्दा उत्तम विधि मानिन्छ भने, यसअन्तर्गत सो समस्या पुनः दोहोरिने सम्भावना अत्यन्त न्युन हुन्छ।
२ लेजर सर्जरी (LASER)
भाफ्टजस्तै यसमा पनि बिरामीको फिस्टुलाका ट्रयाकहरुलाई लेजरको माध्यमबाट डढाइन्छ र यो विधि पनि इन्डोस्कोपी शल्यक्रियाजस्तै दृश्यावलोकसहित हुने भएकाले यसबाट पनि बिरामीले भाफ्ट सर्जरीका लाभ लिन सक्छन् । लेजर सामान्य ,परिणाममुखी शल्यक्रिया हो र यस उपचार पश्च्यात फ़िस्टुला दोहोरिने सम्भावना अन्य परम्परागत शल्यक्रिया भन्दा कम रहन्छ।
माथि उल्लेखित शल्यक्रियाहरु पराम्परागत रुपमा गर्दै आएको शल्यक्रिया जस्तो धाँगो नबाधिँने हुँदा यसबाट शल्यक्रियापछि बिरामीमा पाद रोक्न नसक्ने ,दिसा चुहिने समस्या अति नै न्यून मात्रामा देखापर्छ । जसले फिस्टुला शल्यक्रियापश्चात् व्यक्तिमा देखिने भयलाई समेत कम गराएको छ ।
यस्तै यस किसिमको सर्जरीको दौरानमा व्यक्तिको रक्तश्राव कम हुने भएकाले शल्यक्रियाको भोलिपल्टै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ भने उनीहरु छिट्टै सामान्य जनजीवनमा समेत फर्किन सक्छन् ।
(डा. पराजुलीसँग सृजना मगरले गरेको कुराकानीमा आधारित ।)
भिडियो हेर्नुहोस्: