काठमाडौं-देश संघीय संरचनामा जाँदै गर्दा नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न चिकित्सकले सुझाब दिएका छन् । राष्ट्रिय चिकित्सक संघले शनिबार गरेको ‘संघीय नेपालमा स्वास्थ्यको कार्यदिशा’ विषयक कार्यक्रममा चिकित्सकले यस्तो सुझाब दिएका हुन् ।


ADVERTISEMENT


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. गणेश गुरुङले संघीयतामा स्वास्थ्यलाई प्राथमिकतामा राखेर मेडिकल हबका रूपमा विकास गर्नुपर्ने बताए । ‘गुणस्तरीय स्वास्थ्य शिक्षामा राज्यको जोड हुनुपर्छ । तर, नियन्त्रण गर्ने उद्देश्य बोक्नुहुँदैन,’ उनले भने । विदेशभन्दा नेपालको मेडिकल शिक्षा उच्च गुणस्तरको रहेको सहभागी चिकित्सकले बताए ।


ADVERTISEMENT

# # #


पाँच हजार भत्ता दिनु गलत
पूर्वस्वास्थ्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीले सरकारले गत बिहीबार मिर्गौला, क्यान्सर र इपाइनल इन्जुरीका बिरामीलाई आजीवन पाँच हजार भत्ता दिने भनी गरेको निर्णयको विरोध गरे ।

निकै कडा रूपमा प्रस्तुत भएका अधिकारीले पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा र वर्तमान स्वास्थ्यमन्त्री दीपक बोहोराको विरोध गरे । अधिकारीले भने, ‘म पछिका दुई झिल्के मन्त्रीले आर्थिक चलखेलमा लागेर स्वास्थ्य क्षेत्रलाई धरासायी बनाए यसले मलाई गम्भीर बनाएको छ ।’

मेडिकल शिक्षाका लागि ६ अर्ब ५० करोड बाहिरिन्छ
‘नेपाली विद्यार्थी मेडिकल शिक्षा लिनकै लागि बिदेसिँदा प्रतिवर्ष ६ अर्ब ५० करोड रुपैयाँ बाहिरिने गरेको छ,’ गुरुङले भने, ‘यसलाई रोक्न आवश्यक छ । अन्यथा गुणस्तरहीन विद्यार्थीले नेपालमा प्रवेश पाउनेछन् ।’ बाहिरिने रकम रोकेर त्यसलाई नेपालकै मेडिकल शिक्षामा लागानी गरे गरिब र विपन्न वर्गले निःशुल्क अध्ययन गर्न पाउने डा. गुरुङले स्पष्ट पारे ।

प्रा. डा. शशि शर्माले मेडिकल शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक भएको बताए । ‘हामी संघीयतामा गएका छौँ,’ उनले भने, ‘सोहीअनुसार स्वास्थ्यको सेवा सुविधा पनि केन्द्रमा भन्दा गाउँमा बढी गएको छ । सेवासँगै चुनौती पनि बढी भएकाले चिकित्सकहरूको सुरक्षाको विषयलाई राज्यले गम्भीरतासाथ लिनुपर्छ ।’- आजको नयाँ पत्रिकाबाट