काठमाडौँ – नाबालिका बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाईको पेशी आजका लागि तोकिएको थियो ।


ADVERTISEMENT


मुद्दा अन्तिम सुनुवाइका न्यायाधीश माधव घिमिरेको इजलासमा परेको थियो । तर, सन्दीपतर्फका वकिलले निवेदन दिँदै सुनुवाई स्थगित गर्न आग्रह गरेपछि रोकिएको हो । न्यायाधीश घिमिरेले नै गत कार्तिक १८ गते सन्दीपलाई पुर्पुक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए ।


ADVERTISEMENT

# # #


उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनले पुस १८ गते जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो भने काठमाडौँ छाड्नुपरे प्रहरीको स्वीकृति लिनुपर्ने आदेश दिएको थियो ।

साथै पीडितको परिवारसँग सम्पर्क राख्न नहुने, मुद्दाका विषयमा सामाजिक सञ्जाल वा मिडियामा बोल्न नहुने लगायतका विभिन्न बन्देज समेत लगाएको थियो । सन्दीपले आफू क्रिकेट खेल्न विदेश जानुपर्ने, धरौटी रकम कम गर्नुपर्ने माग राख्दै उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले फागुन १५ गते सन्दीपलाई क्रिकेट खेल्न विदेश जान खुला गर्नुका साथै उक्त मुद्दा फास्ट ट्रयाकबाट अन्तिम सुनुवाई गर्न जिल्ला अदालतलाई निर्देशन दिएको थियो । सन्दीपलाई नुवाकोटकी एक नाबालिकाले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

उनले भदौ ५ गते राती काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको आरोप लगाएकी छन् । सोही अनुसार सन्दीप असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । करिब ३ महिना हिरासत बसेका निस्किएका सन्दीपले फागुनमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाली टोलीबाट शानदार प्रदर्शन गरेका थिए ।

सन्दीपकै प्रदर्शनको बलमा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै आईसीसी विश्वकप छनोटमा स्थान बनाएको थियो ।