काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।
कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै हुसेन तलतले ३० बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४० रन बनाए ।
पवन सर्राफले अविजित ३० रन जोड्दा गुल्सन झाले १२ बलमा दुई छक्कासहित २० रन बनाए । पवनले २३ बलको सामना गरेका थिए ।
कर्णालीका लागि बंगलादेशी खेलाडी जिशान आलमले पनि आजको खेलबाट एनपीएलमा डेब्यु गरेका छन् । आइतबार मात्रै नेपाल आइपुगेका उनले अरिफुल इस्लामसँग ओपनिङ गरेका थिए । तर, टोलीको स्कोर २० रन पुग्दा उनी व्यक्तिगत सात रनमा आउट भए ।
दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरे । त्यसपछि लगातार विकेट गुमाएको कर्णाली ७८ रनमा चार विकेटको अवस्थामा पुगेको थियो ।
तर, पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले । १७औँ ओभरको अन्तिम बलमा तलत हिट विकेट भएर आउट हुनुअघि उनले ४० रन बनाएका थिए ।
त्यसपछि पवन सर्राफ र गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा २८ रनको साझेदारी गरेपछि कर्णालीले १८० रनको सम्मानजनक योगफल तयार पारेको हो ।
बलिङतर्फ काठमान्डु गोर्खाजका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट हात पारे ।
अब कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै काठमान्डु गोर्खाज मैदानमा उत्रिनेछ । पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डु आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ भने कर्णाली लगातार तेस्रो जितको खोजीमा छ ।


























