धुन्चे, रसुवा– २०७२ सालकोे भूकम्पले क्षतिग्रत भई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अब अत्याधुनिक भवनबाट सञ्चालन हुने भएको छ ।


ADVERTISEMENT


नवनिर्मित सेमी परमानेन्ट भवनबाट सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT

# # #


क्यानेडियन रेडक्रशको सहयोगमा नेपाल रेडक्रश सोसाइटीबाट नवनिर्मित प्रिफ्याब प्रविधिको अस्पताल भवनको स्वामित्व प्रमाणपत्र स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई रेडक्रशका भूकम्प प्रतिकार्यका प्रमुख उमेश ढकालले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

यस्तै, नेपाल रेडक्रश सोसाइटीका रसुवा जिल्ला सभापति बाबुलाल तामाङले जिल्ला अस्पताल प्रमुख डा गुणनिधि शर्मालाई भवनको साँचो हस्तान्तरण गरे ।

रसुवा रेडक्रशका कोषाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित सभापति कुलप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङ, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत क्यानेडियन रेडक्रश, नेपाल रेडक्रश सोसाइटीका प्रतिनिधि, पत्रकारलगायतको समुपस्थिति रहेको थियो । कार्यक्रममा भवन निर्माण तथा स्वास्थ्य सेवा सम्बन्धित खुला छलफल पनि चलाइएको थियो ।

एक वर्षअघि नेपाल रेडक्रश सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीच अस्पताल भवन र आवास गृह निर्माणको लागि सम्झौता भएको थियो । कर्मचारी आवास गृहको आगामी तीन महिनामा पुनःनिर्माण सम्पन्न हुने कार्यक्रममा रेडक्रशको अन्तरराष्ट्रिय समिति र क्यानेडियन रेडक्रशका आवास तथा निर्माण संयोजक इञ्जिनियर लक्ष्मण क्षेत्रीले जानकारी दिए ।

पाँचवटा शौचालयसहित २५—कोठे हस्तान्तरण भएको सो भवन ३६३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

थप सहयोग

अब बन्ने २६ कोठाको आवास निर्माणसहित रसुवाको अस्पताल भवनको लागि निर्माण कम्पनीसँगको सम्झौता रकम रु चार करोड २४ लाख नौ हजार रहेको छ । यसका अलावा अस्पतालबाट अझ प्रभावकारी सेवा पु¥याउने उद्देश्यले अस्पतालबाट माग भएबमोजिम रु ४२ लाख ९५ हजार बराबरको मेडिकल उपकरण समेत जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

यसमा दुईवटा हेभी जेनेरेटर, अल्ट्रासाउण्ड मेशिन, एक्सरे मेसिन, इसिजी मेशिन, नेवुलाइजर मेशिन, बिरामी सुत्ने बेडलगायत इन्भर्टर रहेको रेडक्रशका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । यसभन्दा पहिले नै आपत्कालीन अस्पताल हस्तान्तरणको समयमा फर्निचरलगायतका सामग्री हस्तान्तरण गरिसकिएको छ ।

पाँच हजारभन्दा बढी लाभान्वित

विनाशकारी भूकम्पका कारणले रसुवा जिल्ला अस्पतालको भवन क्षतिग्रस्त भएपश्चात तत्काल नेपाल रेडक्रश सोसाइटीले क्यानेडियन रेडक्रस सोसाइटीसँग समन्वय गरी आकस्मिक प्रतिकार्य ईकाईबाट आपत्कालीन सेवा अल्प समयका लागि सञ्चालन गरिएको थियो ।

सो अस्पतालबाट जम्मा पाँच हजार ४०६ जनाले उपचार सेवा पाएका थिए । त्यसपश्चात जिल्ला स्वास्थ्य कार्यालयलाई टेन्टेड (पालभित्र संचालन हुने) अस्पताल हस्तान्तरण गरी हालसम्म सोही टेन्टबाटै सेवा सञ्चालन भइरहेको थियो ।

स्वास्थ्य क्षेत्र पुनःनिर्माणमा रेडक्रशको सहयोग

रसुवा अस्पतालको पुनःनिर्माणको अलावा यसअघि काभ्रे, सिन्धुली र धादिङमा उपकरणसहित चारवटा स्वास्थ्य चौकी भवन रेडक्रशले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

यसबाहेक २३ वटा स्वास्थ्य चौकी निर्माणाधीन रहेका छन् । त्यस्तै, सिन्धुलीमा चारवटा, नुवाकोटमा दुईवटा र मकवानपुरमा दुई वटा हेल्थपोष्टको मर्मत सम्भार सहयोग रेडक्रशबाट भइसकेको छ ।

भूकम्पप्रभावित जिल्लामा स्वास्थ्य चौकी तथा अस्पतालमा गरी १५ वटा स्वास्थ्य संस्थामा आवश्यकताअनुसारका उपकरण प्रदान गरिएको छ ।

काठमाडौँ उपत्यकाभित्र रहेका तीनवटा जिल्लाको हकमा एक एकवटा स्थायी प्रकृतिको स्वास्थ्य चौकी पुनःनिर्माण गर्न रेडक्रशले सम्झौता प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको र स्वीकृति आउन बाँकी रहेको रेडक्रशका हेल्थ अफिसर दीपक पोखरेलले जानकारी दिएका छन्। ज्ञानेन्द्र न्यौपाने/रासस