नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईसंग हिमालय पोष्टले गरेको विशेष कुराकानी :


ADVERTISEMENT


देशमा निर्वाचन सम्पन्न भएपछि राजनीतिक संक्रमणको अन्त्य भएको भन्ने गरिन्छ । एमाले अझ भनौँ वाम गठबन्धन चुनावमा पहिलो शक्तिको रुपमा उदाएको छ । यो बीचमा कस्तो रह्यो अनुभव ?
हामीले संविधान पनि चुनौतिहरुकै बीच जारी गरेका हौँ । जारी भइसकेपछि त्यसको कार्यान्वयन गर्नका लागि पनि धेरै बाधा व्यवधानहरु उत्पन्न भए । तर पनि ती सबै अवस्थालाई छिचोलेर अब मुलूकको राजनीतिलाई संक्रमण कालबाट मुक्त गरेर लामो समेयदेखिको नेपाली जनताको भावना र चाहानालाई सम्बोधन गर्दै नेपाललाई विकास र समृद्धिको दिशामा अगाडि बढाउने एमालेको योजना हो । अहिले मुलुक त्यही दिशामा अगाडी बढिरहेको छ । निर्वाचन सम्पन्न हुने कुरा, निर्वाचनको परिणामले दिएको सन्देश यी सबै कुराहरुलाई हेर्दा नेपालको राजनीति सकारात्मक दिशामा अगाडि बढेको मैले महशुुस गरेको छु ।


ADVERTISEMENT

# # #


निर्वाचन परिणामपश्चात समानुपातिक तर्फका नाम र सूचिपनि आइराखेका छन् । सरकार निर्माणको प्रक्रियापनि सुरु हुनलागेको छ । तर अहिले राजनीति गोलमटोल जस्तो देखिएको छ । खास अड्केको कहाँ हो ?

मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउनका लागि नेपालको राजनीतिमा परिवर्तन संस्थागत हुन नसक्ने अवस्था आयो । अब हामीले देशमा स्थायित्वको स्थापना गर्ने र समृद्धि र विकासतिर अगाडि बढाउने, देशका स्रोत साधनलाई उपयोग गर्ने र अन्तराष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हित अनुकुल परिचालन गर्ने भनेर हामीले वाम गठबन्धन बनाएका हौँ । त्यसले राष्ट्रमा धेरै ठूलो उर्जा, उत्साह पैदा गर्यो । त्यसको परिणाम यो निर्वाचनमा देखियो । अब हामी यो प्रचण्ड बहुमतको साथमा वाम गठबन्धनको सरकार र त्यसमा सकेजती अन्य पक्षहरुलाई पनि साथमा लिएर हामी आगाडि बढ्छौँ र देशलाई संक्रमणकालबाट मुक्त गर्ने बाटो खुलेको छ । अहिले पनि केही समस्याहरु देखिन खोजेका छन् । ती समस्यालाई पनि समाधान गरेर मुलुकको राजनीति अगाडि बढाउने हामीले सोचेका छौँ । यसमा निराश हुने अबस्था छैन ।

निर्वाचन सम्पन्न भएपछि सरकार निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने बेला देशको राजनीति अध्यादेशमा रोकियो । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नामावली सार्वजनिक गरेको छैन । प्रदेश प्रमुख र अस्थायी राजधानी निश्चित भएको पनि छैन । यो गाँठो कसरी फुक्छ ?

यसमा निर्वाचन आयोगले पनि किन ढिलाई गरिराखेको छ । मैले बुझ्न सकेको छैन । मेरो विचारमा शीघ्र समानुपातिकको सूचि प्रकाशन गर्नुपर्छ । निर्वाचन आयोगले गर्नुपर्ने काम छिटो गर्नुपर्छ । आयोग बाधा व्यवधान सिर्जना गर्ने कारक बन्नुहुँदैन । दोस्रो कुरा सरकारको तर्फबाट गरिने सबै कार्यहरु यथाशिघ्र पूरा गर्नुपर्छ ।

तर सरकार गठनको विषयमा पनि बहसहरु उठ्न थालेका छन् । कसको नेतृत्वमा सरकार बनाउने, प्रधानमन्त्री को हुने, त्यो संगै जोडिएको पार्टी एकिकरण र त्यसको अध्यक्ष को हुने भन्ने विषयको टुंगो कसरी लाग्छ ?

सरकार निर्माण र पार्टी नेतृत्वको सन्दर्भमा बढी स्पष्ट छ र जनताले नै यसको फैसला गरेका छन् । तपाईले जनता कहाँ गएर प्रधानमन्त्री को बन्ने भनेमा निःसन्देह केली ओली भन्ने उत्तर पाउनुहुन्छ । पार्टीमा पनि अन्य व्यक्तिले म हुन्छु भनिराख्नु भएको छैन । ओली नै प्रधानमन्त्रीको रुपमा एक्लो उम्मेदवार हुनुहुन्छ । उहाँको नेतृत्वमा अब सरकार बन्छ । अब पार्टी एकताको कुरा गर्दा निर्वाचनको वखत वाम गठबन्धन बनाइराख्दा हामीले केबल निर्वाचन तालमेलको कुरा मात्रै गरिराखेका थिएनौँ । निर्वाचनमा तालमेल भइराखेको थियो । तर त्यसको आधार वाम एकता थियो । पार्टी एकता थियो । अहिले पनि पार्टी एकताको लागि बाधा छैन । यदि कसैले एकतामा भाँजो हाल्छ भने त्यसको कुनै औचित्य छैन । पार्टी नेतृत्व महत्वपूर्ण विषय हो । सुन्दा अनौठो लाग्न सक्छ, अहिलेलाई सबैको हित हुनेगरी दुईवटा अध्यक्षको व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ । विस्तारै यसपछिको प्रक्रिया हुन्छ र एक जनाले नेतृत्व गर्नुहन्छ ।

अबको सरकारमा राजपा सहभागी हुने सम्भावना कत्तिको छ ?

अब हामीले देशलाई नयाँ ढंगले विकासतिर लैजाने कुरा सबै मिलेर गर्नुपर्छ । देशलाई संक्रमणबाट निकालेर एउटा दिशामा हिडाउनु छ । स्वभाविक रुपमा एमालेको नेतृत्व हुन्छ । माओवादी पनि हुन्छ । मधेशी दलहरुसंग पार्टीले पनि कुराकानी गरिराखेको छ । यो राष्ट्र निर्माणको महाअधियानमा उहाँहरुको पनि साथ रहन्छ भनेर अपेक्षा गर्न सकिन्छ । प्रतिपक्षमा त कांग्रेस बस्ने भइसकेको छ ।

तर राजपाको धेरै पहिलेदेखिको संविधान संशोधनको माग अझ पनि थाती नै छ । यी मागको प्रतिवद्धता भए मात्र राजपा सरकारमा आउने कुरा गरिरहेको छ । यसमा वामगठबन्धन तयार होला ?

अब यसमा के छ भने उहाँहरुले उठाएका केही मुद्दाहरुका सन्दर्भमा हाम्रा जे मान्यताहरु थिए । त्यसबाट हामी बाहिर जानु हुँदैन र जान सकिँदैन । उहाँहरुको केही मागहरुलाई हामी मात्रै होइन देशले नै अस्वीकार गरिसकेको छ । एक मधेश एक प्रदेशको कुरा उठाएर अब हुनेवाला केही छैन । यो कुराहरु उहाँहरुले पनि बुझ्नुहुन्छ । त्यस कारण हामी जनतालाई धनी बनाउन लागौँ, देशलाई धनी बनाउन लागौँ । मधेशलाई गरिबीबाट मुक्त गर्ने, विकास गर्ने अभियानमा लागौँ । यसले नै जनताका समस्या समाधान गर्दछ । यो हिसाबले उहाँहरु हिड्न तयार हुनुभयो भने सहकार्य गर्ने बाटो खुल्छ ।

माओवादीसंगको गठबन्धनले गर्दा पार्टीभित्र मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज) का विषयमा पनि बहस हुन थालेका छन् । नयाँ ढंगले कसरी जाने भन्ने खालका कुराहरुमा पनि छलफल भएको देखिन्छ । के अब जबजको च्याप्टर सकिएको हो ? अब कसरी अगाडि बढ्ने ?

यसमा घनश्याम कम्रेडले कसरी भन्नुभो त्यो कुरा त मैले राम्ररी बुझेको छैन । तर मलाई के लाग्छ भने जबजको च्याप्टर क्लोज भयो भन्दा नेपालको सन्दर्भमा माक्र्सवादको च्याप्टर क्लोज भयो भन्नुपर्ने हुन्छ कि ? यदि त्यसो भएको छैन भने जबजको च्याप्टर पनि क्लोज भएको छैन । हामीले विकसित गरेको जबज नेपालको सन्दर्भमा माक्र्सवाद हो । आज हामी जे गर्ने भन्दैछौँ । नेपाललाई विकसित तुल्याउने, नेपाललाई सम्वृद्धिको बाटोतर्फ अगाडि बढाउने, नेपालवमा समाजवादको स्थापना गर्ने भनेर हामी जुन चिज भनिराखेका छौँ । यसको सन्दर्भमा त जबजले नै मार्गदर्शन गरिराखेको छ । हामी कुन वर्ग सन्दर्भको आधारमा अघि बढ्ने, नेपालको विकास गर्दै गर्दा आन्तरिक स्रोत साधनको परिचालन हामी कसरी गछौँ ? वैदेशिक पूँजी र प्रविधिलाई कसरी भित्र्याउने ? यी सबै कुराहरुलाई जबजले मार्गदर्शन गरिराखेको छ । हामी शान्तिपूर्ण ढंगले जनताको अभिमत लिएर अघि बढ्छौँ भने अब कसरी नयाँ सिद्धान्त बोकेर हिड्न सकिन्छ ? त्यस कारण जबज अहिले झन् बढी सान्दर्भिक भएर आएको छ ।

अन्त्यमा, देशमा वाम गठबन्धनको सरकार निर्माण गर्दै गर्दा तपाईको भूमिका कस्तो रहन्छ ?

मेरो कुरा गर्दा पार्टीगत जिम्मेवारीको समस्या रहेन । किनभने केन्द्रीय कमिटीको सदस्य छँदैछु र निश्चित जिम्मेवारी पार्टीले मलाई दिएकै छ । अहिलेको संसदीय राजनीतिको कुरा गर्नुपर्दा निर्वाचन लड्ने तयारी गरेकै मानिस हो म । त्यस शिलशिलामा वाम गठबन्धन बनिसकेपछि मैँले छोड्नुपर्ने स्थिती बन्योे । अबको दिनमा पार्टीले दिएको जिम्मेवारी मैले स्वीकार गर्नैपर्छ । नेतृत्वले सोच्दै होला हामीजस्तो योग्यता र क्षमता भएको व्यक्तित्वलाई कसरी राष्ट्र निर्माणको अभियानमा सहभागी गराउने भनेर । यसमा व्यक्तिगत रुपमा दाबी गर्ने कुरा भएन ।