काठमाडौं । दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, परदेशमा रहेका दाजुभाइको पीडा र नेपाली चाडपर्वको महत्त्वलाई समेटेर बनाएको नारायण सोनीको नयाँ गीत तिम्रो प्रदेशी भाई सार्वजनिक गरिएको छ ।
परिवार र जन्मभूमिबाट टाढा रहेर चाडपर्व मनाउनुपर्दाको दुःख तथा दिदीबहिनीसँग टीका लगाउन नपाउँदाको भावनात्मक पीडालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको सर्जकहरूले बताएका छन् ।
गीतमा परदेशमा रहेका नेपालीको गाउँघरप्रतिको सम्झना, पारिवारिक माया र चाडपर्वमा परिवारसँगै हुन नपाउँदाको अभावलाई भावनात्मक रूपमा चित्रण गरिएको छ ।
गीतमा नारायण सोनीको शब्द तथा स्वर रहेको छ भने देवी घर्ती मगर र अमित बाबु रोकायले पनि स्वर दिएका छन् । गीतको लय अमित बाबु रोकायले तयार पारेका हुन् ।
त्यस्तै, गीतको भिडियोमा सारिका केसी, दिपेन्द्र बी।के।, लक्ष्मी बस्याल र योगेश पानले अभिनय गरेका छन् ।
नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चाडपर्वको भावनालाई संगीतमार्फत जोड्ने उद्देश्यसहित तयार गरिएको गीतले विशेषगरी परदेशमा रहेका नेपालीको मन छुने अपेक्षा गरिएको छ ।


























