काठमाडौँ – आगामी जुन १८ देखि जिम्बाब्बेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटका लागि वेष्ट इण्डिजको टोली घोषणा भएको छ । क्रिकेट वेष्ट इण्डिज (डब्ल्यूसीआई)ले बिहीबार साई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


घोषित टोलीमा अधिकांश इण्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका खेलाडी छन् भने केही नयाँ खेलाडीले पनि मौका पाएका छन् । जसमा पूर्वकप्तान जासन होल्डरदेखि आक्रामक ब्याटर निकोलास पूरनजस्ता खेलाडी छन् ।


ADVERTISEMENT

# # #


यस्तै डब्ल्यूसीआईले युएईसँग हुने ३ खेलको एकदिवसीय सिरिजका लागि पनि १५ सदस्यीय टोली घोषणा गरेको छ । आईपीएल खेलिरहेका वेष्टइण्डिजका खेलाडीहरु भने आईपीएलपछि सोझै जिम्बाब्बे जानेछन् । त्यसअघि उनीहरुलाई केही दिन वेष्टइण्डिजमा आरामको अनुमति दिइएको छ ।

वेष्ट इण्डिजले युएईसँगको सिरिजलाई विश्वकप छनोटको तयारीका रुपमा लिएका जनाएको छ । टोली त्यतैबाट विश्वकप छनोटका लागि जिम्बाब्बे जाने योजना छ ।

विश्वकप छनोटमा वेष्ट इण्डिजसहित, नेपाल, श्रीलङ्का, जिम्बाब्बे, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, ओमान, युएई र अमेरिका गरी १० राष्ट्र रहेका छन् । नेपालले समूह चरणमा वेष्ट इण्डिजसँगै प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।

विश्वकप छनोट खेल्ने वेष्ट इण्डिजको टिम:
शाइ होप (कप्तान), रोभम्यान पावेल (उप कप्तान), शमर ब्रुक्स, यान्निक कारिया, केसी कार्टी, रोस्टन चेस, जेसन होल्डर, अकेल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, काय मेयर्स, गुडाकेश मोटी, किमो पल, निकोलस पूरन र रोमारियो शेफर्ड

विश्वकप छनोटमा पुगेका टोलीको यात्रा

यसअघि १२ टेष्ट मान्यताप्राप्त राष्ट्र र २०१५देखि २०१७ सम्म भएको लिग च्याम्पियनसिपको विजेताका रुपमा नेदरल्याण्डले सन् २०२० देखि २०२३ सम्म आईसीसी सुपर लिग खेलेका थिए । जसमा खराब प्रदर्शनपछि सोझै विश्वकपमा स्थान बनाउन असफल भएका पुछारका ५ टोलीका रुपमा वेष्ट इण्डिज, श्रीलङ्का, आयरल्याण्ड, जिम्बाब्बे र नेदरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै सन् २०१९देखि २०२३ सम्म भएको ७ राष्ट्र सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२का शीर्ष ३ का रुपमा स्कटल्याण्ड, ओमान र नेपाल विश्वकप छनोटमा पुगेका हुन् ।
गत मार्चमा सम्पन्न लिग–२ मा स्कटल्याण्ड च्याम्पियन बनेको थियो भने ओमान दोस्रो र नेपाल तेस्रो हुँदै विश्वकप छनोटमा स्थान बनाएका हुन् । एकदिवसीय मान्यता जागाउन समेत कठिन अवस्थामा पुगेको नेपालले अन्तिम १२ खेलमध्ये ११ खेल जित्दै आश्चर्यजनक रुपमा विश्वकपमा स्थान बनाएको थियो ।

यता लिग–२ मा अमेरिका पाँचौँ र युएई छैटौँ भएसँगै सिधै विश्वकप छनोटमा पुग्न असफल भएका युएई र अमेरिकाले प्लेअफमा उत्कृष्ट २ भित्र पर्दै विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तो छ विश्वकप छनोटको फर्म्याट

जुन १८ देखि जुलाई ९ सम्म जिम्बब्बेमा हुने विश्वकप छनोट राउण्ड रोबिन र नकआउट फर्म्याटमा हुनेछ । विश्वकप छनोमा १० टोलीलाई ५–५ टोली गरी दुई समूहमा विभाजन गरिनेछ ।

जहाँ टोलीले एकअर्काबीच खेल्नेछन् । प्रत्येक समूहका उत्कष्ट ३ टोली सुपर ६ मा प्रवेश गर्नेछन् । सुपर ६ मा पनि प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । सुपरसिक्सका उत्कृष्ट २ टोली यही वर्ष भारतमा हुने विश्वकपमा छनोट हुनेछन् ।