काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर लेगस्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा छलाङ मारेका छन् । क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार सन्दीप एकदिवसीय क्रिकेटको बलिङतर्फ १९औँ स्थानमा उक्लिएका हुन् ।


ADVERTISEMENT


यसअघि २२ औँ स्थानमा रहेको सन्दीप ३ स्थान माथि उक्लिन सफल भएका हुन् । आईसीसीको वरियतामा कुनै पनि नेपाली खेलाडी सबैभन्दा उच्च स्थानमा पुगेको यो पहिलोपटक हो । यसक्रममा सन्दीपले बंगलादेशका मुस्ताफिजुर रहमान, भारतका जस्प्रित बुम्राह लगायतलाई पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


सन्दीपको अघि १८औँ स्थानमा इंगल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर रहेका छन् भने पछाडि २०औँ नामिबियाका बर्नार्ड स्कोल्ज रहेका छन् । गत वैशाखमा मात्रै सन्दीपले सबैभन्दा कम खेलमा १०० एकदिवसीय विकेट लिने विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका थिए । अफगानिस्तानका रासिद खान (४४ खेल)को नाममा रहेको कीर्तिमान तोड्दै सन्दीपले ४२ खेलमा नै उक्त उपलब्धी हासिल गरेका थिए ।

यस्तै आईसीसीको एकलिवसी वरियताको बलिङतर्फ सन्दीपसँगै नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी पनि अटाएका छन् । उनीहरु क्रमशः ५५, ६७ र ९०औँ स्थानमा रहेका छन् ।

यता एकदिवसीयमै ब्याटिङतर्फ कप्तान रोहित कुमार पौडेल ६७औँ स्थानमा रहेका छन् भने आशिफ शेख ७४औँ स्थानमा छन् । टिमको एकदिवसीय वरियतामा भने नेपाल १४औँ स्थानमा कायमै रहेको छ ।