काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीले सरकारले सबै प्रकारका भ्रष्टार अन्त्य गर्छ भनेर आफू विश्वस्त हुन नसकेको बताएका छन् । आइतबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रमकाबारेमा प्रतिनिधिसभामा टिप्पणी गर्दै अध्यक्ष आलीले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘मलाई लाग्दैन सरकारले सबै प्रकारका भ्रष्टाचार नियन्त्रण गर्नेछ । मलाई पत्यार लागिहेको छैन ।’ उनले सरकार भ्रष्टाचार र द्विविधाबीच भ्रम सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिवद्धताबाट उम्किन खोजेको दाबी गरे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैँ गर्छ, तर अन्तिममा विकेति नियन्त्रण गर्छु भन्छ । बुँदा नं. ६ मा पनि त्यही छ, १७७ मा पनि त्यही छ ।’


ADVERTISEMENT

# # #


उनले भ्रष्टार र अख्तियारको दुरुपयोगसँग जोडिएका सम्पूर्ण विषयमा छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीविरुद्ध कानुनी कारबाही गर्नु पर्छ भन्ने कुरामा एमाले प्रतिवद्ध रहेको उनले बताए । उनले भने, ‘एकपल्ट इच्छाशक्ति देखाऔँ, यसलाई साझा इच्छाशक्ति बनाऔँ । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली जनतामा स्थापित गरौँ ।’

तर, वर्तमान सरकारले सरकारको नीति तथा कार्यक्रममा सरकारी जग्गा अतिक्रमण गर्नेविरुद्धको छानबिन, अनुसन्धान र मुद्दा दायर गर्ने विषय समावेश गर्नेसम्म हिम्मत नगरेको अध्यक्ष ओलीले बताए । उनले सरकारले त्यस्ता व्यक्तिलाई संरक्षण दिन खोजेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले प्रश्न गरे, ‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ, तर बालुवाटारको ललितनिवास जग्गा काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दू जलाधार क्षेत्रको जग्गा सट्टाभर्ना काण्ड, धोवीखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइडवडी, क्यान्टोनमेन्ट लगायतका विवादित काण्डमा अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछन् भन्न यो सरकारलाई कसले रोक्यो ? किन नगर्ने ?’

इतिहासको जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारका प्रकरणलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा एमाले दृढ रहेको उनको भनाई छ ।