काठमाडौं-पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।


ADVERTISEMENT


पछिल्लो साता सप्तरीमा चिसोका कारण ६ जनाले ज्यान गुमाएको स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित परिवारका सदस्यले बताएका छन् । महदेवा गाउँपालिका–२, बथनाहाका सुकदेव यादवको शुक्रबार चिसोकै कारण बेहोस भएर मृत्यु भएको परिवारका सदस्यले बताए ।


ADVERTISEMENT

# # #


५८ वर्षीय यादव बिहान ५ बजे नहर किनारमा शौच गर्न गएका बेला चिसोले कठ्यांग्रिएर बेहोस भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय रामदेव यादवले बताए । बिहीबार राति राजविराज नगरपालिका १०, झल्हीका ६५ वर्षीया कैलीदेवी खंग र २ का ६० वर्षीया नाजो बेगमको मृत्यु भएको वडाध्यक्ष अरुण यादवले जानकारी दिए । यसअघि छिन्नमस्ता बरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको थियो ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका वरिष्ठ कन्सलटेन्ट डा. रञ्जितकुमार झा चिसोकै कारण उनीहरूको मृत्यु भएको हुनसक्ने बताउँछन् । ‘अत्यधिक चिसोका कारण हाइपोथर्मियाको सिकार हुनु सामान्य हो’, उनले भने, ‘हाइपोथर्मियाका कारण मुटु तथा नसासम्बन्धी समस्या उत्पन्न भई मृत्यु हुनसक्छ ।’ कसैको पनि पोष्टमार्टम नगरिएकाले चिसोकै कारण मृत्यु भएको हो भनेर ठोकुवा गर्न सक्ने अवस्था भने नरहेको डा. झाले बताए ।

यसैगरी रौतहटमा कठ्यांग्रिएर थप दुईजनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका ७, मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १, समनपुरस्थित इँटा उद्योगमा कार्यरत एक मजदुरको चिसोका कारण मृत्यु भएको दाबी गरिएको हो ।

सर्लाही रामवनका ५५ वर्षीय नेक महम्मद अलीको इँटा उद्योगमा कठ्यांग्रिएर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको आइतबार मृत्यु भएको हो । यससँगै रौतहटमा जाडोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि गढीमाई नगरपालिका ४, सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको चिसोका कारण मृत्यु भएको थियो ।

चिसोले रौतहटको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए । अत्यधिक जाडोले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम भएको छ भने सार्वजनिक यातायातमा यात्रा गर्ने पनि कम छन् । चिसो बढेपछि व्यवसाय पनि प्रभावित भएको गरुडा उद्योग वाणिज्य संघका सचिव सन्तोषकुमार चौधरीले बताए ।

शीतलहरले जनजीवन प्रभावित भएकाले रौतहटका विद्यालयमा बिदा दिइएको जिल्ला शिक्षा अधिकारी रामविनयकुमार सिंहले बताए । उनका अनुसार बालबालिकाका लागि मौसम प्रतिकूल देखिएकाले २६ पुससम्म जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

सप्तरीमा पनि शीतलहरसँगै बढेको चिसाले बालबालिकामा असर पर्ने भन्दै जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै ४ सय १२ वटा सामुदायिक विद्यालय केही दिनका लागि बन्द गराएको छ । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले शितलहरका कारण जिल्लाको जनजीवन अस्तव्यस्त भएको बताए ।

चिसोबाट खासगरी विपन्न परिवार जोखिममा परेका छन् । प्रजिअ पाण्डेले विपन्नलाई न्याना कपडा र आगो बाल्न दाउरा वितरण गर्न थालिएको जानकारी दिए ।