काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै थापाले राज्यविरुद्धको अपराधमा एकजना मान्छे पनि छाड्न नहुने बताएका हुन् ।
उनले शरणार्थी प्रकरणमा सरकारको परस्क्षा भइरहेको भन्दै सरकारको परीक्षापछि न्यायालयको परिक्षा सुरु हुने बताए । थापाले शरणार्थी प्रकरणमा आइरहेको नामहरु सुन्दा लाज पनि लजाएको अवस्था रहेको धारणा राखे ।
सलाम गर्ने वा सलामी लिने जो कोहि व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै उनले न्यायको अनुभूति हुने गरी फैसला हुनुपर्ने बताए । त्यस्तै थापाले चैत्र महिनामा नीति तथा कार्यक्रम बनाएर बैशाख र ज्येष्ठ महिना बजेट कार्यान्वयनका लागि कानून बनाउने काममा व्यतित गर्नुपर्ने बताए ।
छलफलमा भाग लिदै एमाले सांसद गोकर्ण बिष्टले ४६ सालपछि विभिन्न ओहोदामा पुगेका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्ने र कर नतिरेका सम्पतीहरु जफत गर्नुपर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक नरहेको भन्दै जनताको भावना समेटिने गरि परिस्कृत गर्नुपर्ने सुझाव दिए ।
बिष्टले सरकारको कार्यक्रममा सांसदहरुको रचनात्मक सुझावहरुलाई समावेश नगरिए संसदीय पराम्पराको निरन्तरता मात्रै हुने जिकिर गरे ।