ललितपुर – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरेका छन् ।
यसअघि लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइएको थियो । प्रत्येक वर्ष राष्ट्राध्यक्षले रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन रहे पनि यसपटक राष्ट्रपति पौडेल बिरामी भएपछि गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।
भोटो देखाउने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायत सरकारका मन्त्री र उच्च पदस्थको समेत उपस्थिति रहेको थियो । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ ।
बुङमती मन्दिरमा राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्याउने गरिन्छ।
यस्तो छ भोटो जात्राको किंवदन्ती
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।
त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ ।