काठमाडौँ – आगामी जुन १८ देखि जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को छनोटसमितिले आइतबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


जस अनुसार नेपालले यसअघि गत वैशाखमा नेपालमा भएको एसीसी प्रिमियर कप ट्रिकेटको उपाधी जितेको नेपाली टोलीसहित अर्जुन साउद र किशोर महतोलाई थप गरेको छ ।


ADVERTISEMENT

# # #


नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल्, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद (विकेटकिपर) र किशोर महतो ।

आईसीसीले १० राष्ट्रको सहभागिता हुने विश्वकप छनोटमा ५–५ टोली गरी दुई समूहमा विभाजन गरेको छ । जस अनुसार नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसहित टेस्ट राष्ट्र वेष्ट इण्डिज र जिम्बाब्बे रहेका छन् । यस्तै नेदरल्याण्ड र अमेरिका पनि समूह ‘ए’मा नै रहेका छन् ।

यता समूह ‘बी’मा दुई टेस्ट राष्ट्रहरु श्रीलङ्का र आयरल्याण्ड तथा स्कल्याण्ड, ओमान र युएई रहेका छन् । राउण्ड रोबिन र नकआउट फर्म्याटमा हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टोली यही वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

यस्तो छ नेपालको खेल तालिका

नेपालले प्रतियोगिता सुरु हुनुअघि ओमान र युएईसँग अभ्यास खेल खेल्ने तय भएको छ । जस अनुसार नेपालले जेष्ठ ३० गते युएईसँग अभ्यास खेल खेल्नेछ भने जेष्ठ ३२ गते ओमानसँग अध्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

असार ३ गतेदेखि विश्वकप छनोट सुरु हुनेछ । नेपालले पहिलो खेल आयोजक राष्ट्र जिम्बाब्बेसँग असार ३ गते खेल्नेछ । यस्तै दोस्रो खेल असार ५ गते अमेरिकासँग तथा तेस्रो खेल असार ७ गते वेष्ट इण्डिजसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल भने नेपालले असार ९ गते नेदरल्याण्डसँग खेल्नेछ ।

नेपालले विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । त्यहाँ नेपालले नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली जुन १ भित्र प्रस्थान गर्ने बताइएको छ । दक्षिण अफ्रिकामा तयारी गरेर नेपाली टोली विश्वकप छनोटका लागि त्यतैबाट जिम्बाब्बे प्रस्थान गर्नेछ ।

विश्वकप छनोटमा पुगेका टोलीको यात्रा

यसअघि १२ टेष्ट मान्यताप्राप्त राष्ट्र र २०१५ देखि २०१७ सम्म भएको लिग च्याम्पियनसिपको विजेताका रुपमा नेदरल्याण्डले सन् २०२० देखि २०२३ सम्म आईसीसी सुपर लिग खेलेका थिए । जसमा खराब प्रदर्शनपछि सोझै विश्वकपमा स्थान बनाउन असफल भएका पुछारका ५ टोलीका रुपमा वेष्ट इण्डिज, श्रीलङ्का, आयरल्याण्ड, जिम्बाब्बे र नेदरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै सन् २०१९देखि २०२३ सम्म भएको ७ राष्ट्र सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२का शीर्ष ३ का रुपमा स्कटल्याण्ड, ओमान र नेपाल विश्वकप छनोटमा पुगेका हुन् ।

गत मार्चमा सम्पन्न लिग–२ मा स्कटल्याण्ड च्याम्पियन बनेको थियो भने ओमान दोस्रो र नेपाल तेस्रो हुँदै विश्वकप छनोटमा स्थान बनाएका हुन् । एकदिवसीय मान्यता जागाउन समेत कठिन अवस्थामा पुगेको नेपालले अन्तिम १२ खेलमध्ये ११ खेल जित्दै आश्चर्यजनक रुपमा विश्वकपमा स्थान बनाएको थियो ।

यता लिग–२ मा अमेरिका पाँचौँ र युएई छैटौँ भएसँगै सिधै विश्वकप छनोटमा पुग्न असफल भएका युएई र अमेरिकाले प्लेअफमा उत्कृष्ट २ भित्र पर्दै विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तो छ विश्वकप छनोटको फर्म्याट

जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्बेमा हुने विश्वकप छनोट राउण्ड रोबिन र नकआउट फर्म्याटमा हुनेछ । विश्वकप छनोमा १० टोलीलाई ५–५ टोली गरी दुई समूहमा विभाजन गरिनेएको छ ।

जहाँ टोलीले एकअर्काबीच खेल्नेछन् । प्रत्येक समूहका उत्कष्ट ३ टोली सुपर ६ मा प्रवेश गर्नेछन् । सुपर ६ मा पुगेका टोलीले आफ्नो विपरितको समूहका टोलीसँट एक एक खेल (कूल ३ खेल) खेल्नेछन् । सुपरसिक्समा समूह चरणमा टोलीले पाएको अंक समेत जोडिनेछ । उक्त अंक आफ्नो समूहबाट सुपर सिक्समा पुगेका टोलीसँगको खेलको मात्र गणना हुनेछ । सुपरसिक्सका उत्कृष्ट २ (फाइनल पुग्ने) टोली यही वर्ष भारतमा हुने विश्वकपमा छनोट हुनेछन् ।