नयाँ दिल्ली— भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहालले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उनप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ । ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ ।

यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री दाहालको सम्मानमा बिहीबार भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि बुधबार प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।