काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग लिम्पियाधुरा लिपुलेक साट्ने कल्पना पनि गर्न नसकिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले बंगलादेशसँग जाने बाटो वा पारवाहनको विषय सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताएका हुन् ।
उनले त्यसका लागि पहिले नै टुंगिएको र ढुवानी र आवागमनको विषयमा सहमति भएको बताए । उनले भने, ‘बंगलादेश–भारत–नेपालसम्म बस, यातायातका साधान, मान्छे जाने आउनेसम्मका उद्घाटन भइसकेका विषय हुन् । त्यसकारण बंगलादेश जानका लागि हामीले कुनै जमिन दिनुपर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय प्रचलनमा नभएको कुरा हो । जमिन दिने कुरा सोच्न पनि सकिन्नँ ।’
अध्यक्ष ओलीले सीमा समाधानका लागि उदारकाताका साथ तर तथ्य प्रमाणका आधारमा समाधान गरिनुपर्ने बताए । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो जमिन हो भनेर नेपालको संसदले सर्वसम्मितीले पारित गरेकाले त्यसलाई सुगौली सन्धि र अन्य तथ्य र प्रमाणका आधारमा फिर्ता गर्नतिर लाग्नुको साटो जमिन साट्ने कुरा आउनु आपत्तिजनक रहेको बताए ।
यस हिसाबले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको टिप्पणी गरे ।