काठमाडौं-लमजुङको करापुस्थित ३.३ मेगावाटको फिदिमखोला जलविद्युत् आयोजनामा तोडफोड भएको छ । अघिल्लो साता मात्र राष्ट्रिय ग्रिडमा जोडिएको सो जलविद्युत् आयोजनाको बाँधस्थल, पावरहाउस लगायतका भौतिक संरचनामा गुन्डा लगाएर तोडफोड भएको आयोजनाले जनाएको छ ।


ADVERTISEMENT


स्थानीयवासीले राखेका माग पूरा नगरेको आरोप लगाउँदै भौतिक संरचनामा क्षति पुर्‍याएको आयोजनाको भनाइ छ । पोखरा बसेर गुन्डागर्दी कार्य गर्दै आएका ललिन गुरुङको नेतृत्वको टोलीसहित आयोजना आसपासका गुन्डाहरूले तोडफोड गरेको आयोजनाका अध्यक्ष किरण मल्लले बताए ।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रवाट १० किलोमिटर टाढा पर्ने असम्बन्धित व्यक्तिहरूले नाजायज माग राखेर आयोजनामा क्षति पुर्‍याएको उनले बताए । उनले भने, ‘सडक निर्माण, खानेपानी, अस्पताल, विद्यालयलगायत संरचना निर्माण गर्नुपर्ने भन्दै ३ करोड रुपैयाँको माग राखेको र नदिएपछि तोडफोड भएको हो ।’

३ मेगावाटको सानो आयोजनाले असम्बन्धित व्यक्तिका माग पूरा गर्न नसक्ने भनेपछि स्थानीयसँग विवाद चर्किएको थियो । अघिल्लो बुधबार बाँधको गेट खोलेर पानी बगाइदिएपछि विद्युत्गृह बन्द भएको आयोजनाले जनाएको छ ।

लमजुङ घटनाले निजी ऊर्जा उत्पादकलाई आतंकित पार्न खोजिएको र जतिसक्दो चाँडो समस्याको समाधान गरेर कानुनी उपचार हुनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

‘घटनालाई अन्यन्त गम्भीरताका साथ लिएर सरकारलाई सुरक्षाको ग्यारेन्टी प्रदान गर्न आग्रह गर्छौँ,’ गुरागाईंले भने, ‘दोषीलाई कडाभन्दा कडा कारबाही गरेर यस्ता घटना पुनः नदोहोरिने गरी प्रवद्र्धकको सुरक्षा गर्न माग गर्छौँ ।’ तोडफोडबाट कर्मचारी बस्ने आवास, पर्खाललगायत संरचनामा पूर्ण क्षति पुगेको छ । उत्पादित विद्युत् ३३ किलोमिटरको दूरीमा रहेको दमौली सबस्टेसनमा जोडिएको छ ।