लुम्बिनी— भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् ।


ADVERTISEMENT


उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ लक्षित कार्यक्रमबाट भारतीय पर्यटक नेपालतर्फ आकर्षित हुने बताए ।


ADVERTISEMENT

# # #


बिहीबार बुटवल आएका उनले भने, ‘नेपालसँग पर्यटनको अधिक सम्भावना छ, उत्तर प्रदेशमा मात्र २४ करोडभन्दा बढी जनसङ्ख्या छ, नेपालको सम्भावनाका हर क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्ने हो भने विदेशी पर्यटक खोज्न नेपाल धेरै टाढा जानै पर्दैन ।’

उनले बुटवलमा बनेको लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभइ भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण हुने बताए ।  भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र यहाँ बन्ने केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधार उनीहरूका लागि पनि आवश्यक गन्तव्य बन्दै जाने उनको धारणा थियो ।

उत्तरप्रदेशबाट लोक सभाका सदस्य रहेका पालले अब उत्तर प्रदेशका जनता केबलकार चढ्न हिमाञ्चल प्रदेश पुग्नु नपर्ने र लुम्बिनी केबलकार उनीहरूको पनि आकर्षण बन्ने बताए ।

उनले भने, ‘लुम्बिनी केबलकार नेपालीका लागि मात्रै होइन, छिमेकी देश भारतको उत्तर प्रदेशलगायत भारतीय जनताका लागि पनि हो ।’ केबलकारको टप स्टेशनमा बनेको कामाख्या भगवती मन्दिर, प्राकृतिक सौन्दर्य र शीतल वातावरण भारतीय पर्यटकका लागि आकर्षण बन्ने उनको भनाइ थियो । लुम्बिनी भारतीय पर्यटकका लागि पनि अत्यधिक रोजाइको गन्तव्य रहेको र त्यसमा अब केबलकारसहितको यो नयाँ गन्तव्य थपिएकाले शान्त र शीतल वातावरणमा रमाउन चाहने भारतीय पर्यटकको बसाइ अवधि लम्ब्याउन सजिलो हुने उनको भनाइ थियो । रासस