नेकपा एमालेका नेता तथा युवासंघ नेपालका सचिव पर्शुराम बस्नेतसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


देशमा राजनीतिक मुद्दा सकिएर समृद्धिको एजेण्डालाई आत्मसाथ गर्दैगर्दा वाम गठबन्धनलाई सरकार निर्माणको लागि स्पष्ट बहुमत आएको छ । विकास र समृद्धि हासिल गर्नका लागि युवासंघ कसरी अगाडि बढ्दैछ ?


ADVERTISEMENT

# # #


मुलुकमा तीन चरणका निर्वाचन सम्पन्न भइसकेका छन् । तपाईले भनेजस्तै राजनीतिक उपलब्धीका आन्दोलनहरु सकिसकेका छन् । हामीले अब समृद्धि, स्थायित्व र विकासको एउटै मुद्दालाई अगाडि बढाइरहेका छौँ । वाम गठबन्धनको पक्षमा नेपाली जनताले जुन उत्साहले मत दिनुभएको छ । त्यसले संघीय प्रणालीमार्फत समृद्धि पस्कने उद्देश्यलाई पूरा गर्छ ।

तपाई प्रदेश नं १ बाट प्रतिनिधित्व गर्नुहुन्छ । सबैभन्दा धेरै जिल्ला समेटिएको प्रदेश पनि त्यही हो । कसरी सम्भव हुनसक्छ समृद्धि ?

एक नं प्रदेश आफैमा समृद्ध प्रदेश छ । यसलाई जलस्रोतको हिसाबले पर्यटनको हिसाबले, कृषियोग्य जमिनका हिसाबले, धार्मिक पर्यटनका हिसाबले सबैभन्दा राम्रो भविष्य भएको प्रदेशका रुपमा लिन सकिन्छ । यसकारण एक नं. प्रदेशले अन्य छ वटै प्रदेशलाई मार्गनिर्देश गर्छ भन्ने हाम्रो विश्वास छ । यहाँ वाम गठबन्धनको लगभग दुई तिहाई मत भएकाले सहज रुपमा प्रदेश सञ्चालन गर्न सकिन्छ । निर्वाचन आयोगले प्रक्रिया टुंग्याउना साथ एक नं प्रदेशले हामीजस्तै युवा नेतृत्व पाउँछ । एक नं. प्रदेशको पहिलो मुख्यमन्त्री हुने सौभाग्य शेरधन राईले पाउनुहुनेछ । यसले युवा वर्गमा उत्साह थपेको छ । जसरी भारतमा गुजरातले एउटा सन्देश प्रदान गरिरहेको छ, त्यसैगरी एक नं प्रदेशले विकास र समृद्धिको मोडल सहितको एउटा खाका प्रस्तुत गर्छ ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको छैन् । लामो समयदेखि प्रदेश नं एकको राजधानी धनकुटा बनाउनुपर्छ भनेर त्यहाँका वासिन्दाहरुले आन्दोलन गरिरहेका छन् । तपाईलाई कसरी टुंगिन्छ जस्तो लाग्छ यो कुरा ?

प्रदेशको राजधानी अहिले अस्थायी रुपमा तोकिदैछ । भौतिक संरचनादेखि लिएर सरकार निर्माण गर्न सहज हुने ठाउँमा सरकारले अस्थायी राजधानी तोक्छ । तर स्थायी राजधानी वैधानिक हिसाबले संविधानमा भए बमोजिम प्रदेश सभाका सदस्यहरुको बहुमतको आधारमा उपयुक्त ठाउँमा तोकिन्छ । त्यस कारण हामीले अहिले नै त्यो कुरामा दाबी गरिरहनु उचित हुँदैन जस्तो लाग्छ ।

पार्टी एकताको कुरा आइरहेको छ । माओवादीबाट पनि वाईसीएल छ । एमालेबाट तपाईहरु हुनुहुन्छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?

युवासंघ देशभरि नै शसक्त छ । पार्टी एकतापछि वाईसीएल र युवासंघको पनि एकता महाधिवेशन हुन्छ । त्यो महाधिवेशनले देश विकासका लागि तथा समुन्नत समाज निर्माणका लागि सहयोग गर्छ । यसले राजनीतिमा युवाको वितृष्णालाई चिर्नका लागि यसले सहयोग गर्छ । पर बसेर राजनीतिलाई धारे हात लगाउने भन्दा पनि राजनीतिभित्र छिरेर शुद्धिकरण गर्नका लागि हामी युवाहरुलाई प्रोत्साहन गछौैँ । यस्तै अन्य योजनाका साथ हामी आउँदैछौँ ।

अन्त्यमा, नयाँ सरकार गठनपछि देश नयाँ दिशातिर उन्मुख हुन्छ भन्नका लागि तपाईको भनाई के हुन्छ ?

अहिले अड्किएको राजनीतिलाई सबै मिलेर समाधानको बाटोमा जानुपर्छ । राष्ट्रियसभा निर्वाचनको कार्यातालिका सार्वजनिक भइसकेकाले यो प्रक्रिया निर्धारित मितिमा नै हुन्छ । सम्भव त फागुनसम्ममा सबै कानुनी जटिलताको अन्त्य भएसंगै जनमत अनुसार वाम गठबन्धनको सरकार बन्छ । त्यो सरकारले जनताको चाहाना, भावना अनुसार देशलाई समृद्धिको दिशामा हिडाउँछ । मुलुकले स्थायित्व र समृद्धिको ढोका खोल्छ ।