काठमाडौँ – बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रदेश अधिवेशनमा पारस निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


उनले प्रतिस्पर्धी उमेश पियालाई ९ मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । बागमतीमा ६ वटा जिल्लाका ३७ जना प्रतिनिधि रहेका थिए । जसमध्ये पारसले २३ मत पाएका हुन् भने उमेशले १४ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


जिल्ला क्रिकेट संघ काठमाडौँ, जिल्ला क्रिकेट संघ ललितपुर, जिल्ला क्रिकेट संघ भक्तपुरका र जिल्ला क्रिकेट संघ मकवानपुरकाले समर्थन गरेका थिए । उनीविरुद्धमा जिल्ला क्रिकेट संघ चितवन र मकवानपुरले आफ्नै उम्मेदवार उठाएका हुन् ।

यस्तै बागमती प्रदेशको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित भएका छन् । उनले रुपक रञ्जितलाई ९ मतान्तरले हराएका हुन् । सोक्रममा रुपकले १४ मत प्राप्त गरे । यस्तै सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा प्रज्वल सापकोटा १४ मत प्राप्त गरे भने कोषाध्यक्ष्मा सञ्जय बस्नेत (२३ मत) निर्वाचित भए भने विजय बोहोराले १४ मतमात्रै प्राप्त गरे ।

सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्याल समेत २३ मतसहित निर्वाचित भएका छन् ।

क्रिकेट संघको नेतृत्वमा आउने उद्देश्यसहित पारसले २ वर्षअघि खेल जीवनबाट सन्यास लिएका  थिए । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमितिको चयन असोज ५ र ६ गते हुँदैछ । क्यानका वर्तमान अध्यक्ष दोहोरिने दाउमा रहेका छन् । प्रदेश अध्यक्षमा चुनिएपछि पारसले केन्द्रीय निर्वाचनका लागि तयारी गर्ने समेत बुझिएको छ ।

तस्बिर : छुम्बी लामा