अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्कँदै गरेको लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा ६ जना गम्भीर र १० जना मध्यम घाइते भएका छन् । अनियन्त्रित बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई समेत ठक्कर दिएपछि सडक छेउको भित्तामा ठोक्किएको थियो ।
घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
























