काठमाडौं – दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै विस्फोटक ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि कर्णाली याक्सले जित निकाल्न सकेन ।
शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित ९३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सैफ जैबले ३५, विनोद भण्डारीले २७ तथा ब्रान्डन म्याकमुलेनले २४ रन बनाए । अन्तिम पाँच ओभरमा ५७ रन जोड्दै सुदूरपश्चिमले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
यो जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेलमा दोस्रो हार बेहोरेको कर्णाली चार अंकसहित पाँचौँ स्थानमा झरेको छ ।


























