काठमाडौँ– काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो ।
वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।