रौतहट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा नेपाली  कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफ्ताब आलमसंग हिमालय पोष्टले गरेको विशेष कुराकानीको सम्पादित अंश: 


ADVERTISEMENT


निर्वाचन जित्नु भएको व्यस्तता कत्तिको बढेको छ ?
व्यवस्तता त बढेकै छ । जनताको एकएक फोन रिसिभ गर्नुपर्दछ । उहाँहरुका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर त्यसको समाधानतिर लाग्नुपर्छ । पार्टीका कार्यक्रमहरु पनि छन् । त्यस कारण अलि व्यस्त नै छु ।


ADVERTISEMENT

# # #


लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसको तपाई एउटा खास नेता हुनुहुन्छ । विगतदेखि नै नेपाली कांग्रेसलाई बुझिरहनु भएको छ । काँग्रेसलाई कस्तो पार्टीको रुपमा परिभाषित गर्नुहुन्छ  ?

नेपाली कांग्रेसको इतिहास त हामी सबैलाई थाहा छँदैछ । चाहे त्यो राणा शासनको विरुद्धमा होस् वा पञ्चायतको विरुद्धमा नेपाली कांग्रेसले शसक्त भूमिका खेल्यो । राजा ज्ञानेन्द्रको निरंकुश शासन होस् वा युद्धरत माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर लोकतान्त्रिक बाटोमा हिँडाउने । सबै आन्दोलनमा नेपाली कांग्रेसले नेतृत्व गरेको छ । पछिल्लो समयको कुरा गर्नुपर्दा संविधान निर्माण गरेर यसको कार्यान्वयनका लागि तीनवटै निर्वाचन सम्पन्न गर्न पनि नेपाली कांग्रेस नै आवश्यक भयो । त्यस कारण नेपालमा प्रजातन्त्रको रक्षा गर्दै नेपाली जनताको हितको लागि मरिमेट्ने पार्टी नेपाली कांग्रेस हो । त्यस कारण मैँले बुझेको के हो भने कांग्रेस बलियो भएपछि प्रजातन्त्र बलियो हुन्छ । राष्ट्र बलियो हुन्छ । राष्ट्रियता बलियो हुन्छ । नेपाली जनता बलियो हुन्छ ।

कुनै पनि कुरा जति बलियो हुन्छ, जति शक्तिशाली हुन्छ । त्यसको बारेमा आलोचना पनि उत्तिकै आउँछ । नेपाली कांग्रेसपनि यसबाट अछुतो हुन सकेको छैन । कांग्रेसमा विभिन्न किसिमका विभेद कायम छन् भनिन्छ नि ?

यो कुरा सुन्दा मलाई आश्चर्य लाग्यो । किन भने नेपाली कांग्रेस विभेदकारी पार्टी होइन । यसले कुनै भेदभाव गर्दैन । किनभने २५-३० वर्ष मैँलेपनि यसमा सक्रिय राजनीति गरेको छु । चारपटक कांग्रेसको प्रतिनिधित्व गर्दै संसदमा गइसकेको हुनाले मैँले देख्दाखेरी कसैले यस्ता आरोप लगाउँछ भने त्यो झूटो हो । किनभने मसंग प्रसंग छ कि ४८ सालमा नेपाली कांग्रेसलाई नेपाली जनताले बहुमत दिएको थिए । त्यतीबेला गिरिजा बाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । एमालेमा तत्कालीन महासचिव स्व. मदन भण्डारी हुनुहुन्थ्यो । त्यतीबेला एमालेले के भन्यो भने, हामी कांग्रेसलाई हनिमुन पनि मनाउन दिदैनौँ । सरकारको कुनै गल्ती नभइ एमालेले प्रधानामन्त्रीको राजीनामा माग गर्दै लामो समयसम्म संसद अवरुद्ध गर्यो । लामो समयसम्म लोकतान्त्रिक प्रक्रियामा संसद अवरुद्ध हुनु राम्रो होइन । तत्कालीन कांग्रेसको सभापति कृष्ण प्रसाद भट्टराई हुनुहन्थ्यो । उहाँले संसद खोल्नका लागि गणेशमानसंग सल्लाह गर्दै हुनुहुन्थ्यो । त्यतीबेला गणेशमानजीले किसुनजीलाई के भन्नु भयो भने संसद खोल्ने प्रयास गर्नुस् । प्रधानमन्त्रीले राजीनामा दिएपछि कुनैपनि सरकार ६ महिनाभन्दा बढी टिक्न सक्दैन । प्रयास गर्दापनि संसद खुलेन भने त्यसको एउटै विकल्प हो कि शेख ईद्रिशलाई प्रधानमन्त्री बनाउनुस् । यदि विभेदकारी पार्टी भएको भए त्यतिखेर गृहमन्त्री शेर बहादुरजी हुनुहुन्थ्यो । उहाँलाई गणेशमानजीले किन सिफरिस गर्नु भएन ? अन्य नेताको नामपनि लिनुहुन्थ्यो । एउटा मधेशी र अल्पसंख्यकको नाम किन लिनु भयो भने नेपाली कांग्रेस सबैको सहभागिता रुचाउँछ भन्ने नै थियो । त्यो घटनाबाट स्पष्ट हुन्छ कि नेपाली कांग्रेस विभेदकारी पार्टी होइन । सबैको पार्टी भनेकै नेपाली कांग्रेस हो भन्ने सन्देश दिन्छ ।

त्यतिबेलाको कांग्रेस जस्तो थियो । नेतृत्व जुन किसिमको थियो । त्यस्तै नेतृत्व अहिलेपनि कायम त छैन होला नि ?

निश्चित रुपमा छ । एउटा कुरा के भन्छु भने नेपाली कांग्रेस त्यही बाटोमा, त्यही सोचमा छ । भविष्यमा पनि त्यही मार्गमा रहन्छ ।

अब तपाई चार-चार पटकसम्म प्रत्यक्षरुपमा निरन्तर जितिरहनु भएको छ । यसको पछाडिको कारण के हो कि जसले तपाईलाई जनताले बारम्बार मन पराइरहन्छन् ?

एउटा कुरा के छ भने मेरो परिवारबाट यो मात्र पहिलो प्रतिनिधित्व होइन । यो भन्दा पहिले पनि मेरो हजुरबुवा शेख ईद्रिशजी २००९ सालको संसद(जसलाई सल्लाहकार सभा पनि भनिन्थ्यो)मा उहाँ पनि हुनुहुन्थ्यो । त्यस पनि उहाँको सन्तानमा शेख ल्याकत पनि हुनुभो । त्यसपछि म पनि भएँ । हामीहरुको एउटै सिद्धान्त के हो भने जनताको सुख दु:खमा सहभागी हुनुपर्छ । चाहे रात होस् या दिन । जुनसुकै बेला पनि हामी जनतासंग प्रत्यक्षरुपमा साथमै रह्यौँ । जनतालाई म आफ्नो घरको सदस्य ठान्दछु ।  जनताको सुखदुख नै आफ्नो सुख दु:ख ठानेको कारणले नै जनताले विश्वास गर्नुहुन्छ जस्तो लाग्छ ।

कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासंग पनि तपाईले राम्रै संगत गर्नुभयो । के कुराहरु सिक्नु भयो उहाँहरुबाट ?

हो, सौभाग्य नै भन्नुपर्छ मैँले गणेशमान, किसुनजी र गिरिजाबाबुसंग पनि संगत गर्ने मौका पाएँ । उहाँहरुको व्यतित्व बुझ्ने अवसर पनि प्राप्त भयो । किसुनजीको पार्टी सञ्चालनको तरिका पनि बुझेँ । गिरिजाबाबुसंग त अत्यन्तै नजिक रहेर काम गरेँ । उहाँहरुको सबैभन्दा ठूलो चिन्ता पार्टी कसरी मजबुद हुन्छ भन्ने थियो । गुटउपगुट भन्दा पार्टीलाई प्राथमिकता दिनुहुन्थ्यो । तर पार्टीभन्दा पनि प्राथमिकतामा देश थियो । कांग्रेस कसरी बलियो बन्छ भन्ने कुरा जहिले पनि उहाँको चिन्ताको विषय बन्थ्यो । प्रजातन्त्र मजबुद बनाउनका लागि राष्ट्रियता बलियो बनाउनका लागि, जनतालाई सुखी बनाउनका लागि नेपाली कांग्रेस सरकारमा आउनुपर्छ भन्ने सोच उहाँहरु राख्नु हुन्थ्यो । त्यही सोचबाट हामीले अगाडि बढ्नुपर्छ भन्ने मेरो बुझाई हो ।

त्यसो भए अब कांग्रेसलाई बलियो बनाउनका लागि, देशलाई, जनतालाई समृद्ध बनाउनका लागि कसरी अगाडि बढ्नुपर्छ ?

अहिलेको निर्वाचनमा जुन परिणाम आएको छ । यसबाट नेपाली कांग्रेसले धेरै डिप्रेस हुनुपर्ने अवस्था म देख्दिन । किनभने जहिले पनि नेपाली जनताको सरोकारको विषय नेपाली कांग्रेसको सरोकारको विषय बनेको छ । त्यस कारण हामी नेपाली जनताका जुन मुद्दा छन्, जुन पीडा छन्, त्यसैलाई आफ्नो बनाएर जनताको घरदैलोमा जान्छौँ । हाम्रो जुन कमी कमजोरी भयो त्यसको लागि पनि हामी क्षमा याचना गर्नेछौँ । मलाई विश्वास छ कि नेपाली जनताले काँग्रेसलाई उहाँहरुले साथ दिनुहुन्छ । जनसरोकारका विषयलाई हामी संसदमा दह्रो रुपमा उठाउँछौ । त्यहि मुद्दा लिएर फेरि जनताको माझमा गएर हामी पहिलो पार्टी बनेर आउँछौँ र सरकारको नेतृत्व गर्छौँ ।

त्यसको लागि त तपाईजस्ता युवा नेतृत्वहरुलाई पनि केही भूमिका त चाहिएला नि ?

निश्चित रुपमा चाहिन्छ , अब नेपाली कांग्रेस बलियो भएन भने देशमा लोकतन्त्र पनि बलियो हुन सक्दैन । देश बलियो हुन सक्दैन । जनता बलियो हुन सक्दैनन । जनताका समस्या समाधान गर्ने एउटै पार्टी नेपाली कांग्रेस हुनसक्छ । त्यसको लागि संसददेखि सडकसम्म, पार्टीको केन्द्रीय तहदेखि स्थानीय स्तरसम्म योग्य व्यक्तिहरुलाई पुर्याउनु पर्छ । मेरो भूमिका जिम्मेवारपूर्वक म पूरा गर्छु ।

कस्तो खालको भूमिका ?

एउटा कुरा के छ भने लोकतन्त्रमा सबैभन्दा उच्च फोरम संसद नै हो । संसदबाट जे जती भूमिका हुन्छ त्यो म निर्वाह गर्छु लोकतन्त्र मजबुद बनाउनका लागि । अन्य भूमिका त पार्टी सभापतिले बुझ्ने कुरा हो । मलाई कस्तो जिम्मेवारी दिनुहुन्छ त्यो उहाँमा भर पर्छ । तर संसददेखि सडकसम्मको भूमिका त म निभाउँछु नै ।

नेपाली कांग्रेसको एउटा अनुभवी नेता तथा सांसदको हैसियतमा बताइदिनुस् कि अबको राजनीति कुन दिशातिर बढ्छ ? विकास र समृद्धिको लागि नेपाली कांग्रेसले कसरी नेतृत्व गर्छ ?

देशमा जुन किसिमका समस्या देखिएका छन् । त्यसको समाधान नेपाली कांग्रेस बाहेक अर्कोले गर्न सक्दैन । एमाले पहाड जिन्दावाद भन्छ । मधेशी मार्चा मधेश जिन्दावाद भन्छ । नेपाल जिन्दावाद कसैले भन्दैन । त्यो नेपाली कांग्रेसले मात्रै भन्छ । मैँले अघि पनि भनेँ नेपाली कांग्रेसमा कुनै विभेदकारी नीति पनि छैन । त्यस कारण अहिले देखा परेको समस्यालाई समाधान गर्ने सामथ्र्य नेपाली कांग्रेसले मात्रै राख्छ । र समाधान गर्नुको विकल्प छैन । प्रकृतिले दिएको स्रोत साधानको उपयोग गरेर नेपाललाई समुन्त राष्ट्रमा पुर्याउनका लागि नेपाली कांग्रेसले नै नेतृत्व लिन जरुरी छ । देशलाई समृद्ध बनाउन भाषणले मात्रै हुँदैन, व्यवहारमा पनि लागू गर्नु जरुरी छ ।

अन्त्यमा, हरेकको आ-आफ्नै किसिमको गन्तव्य हुन्छ । तपाई राजनीतिमा लामो दौडको घोडा हो भन्ने त पुष्टी भई नै सक्यो । अब कुन स्थानसम्म पुग्छु भन्ने महोत्वाकांक्षा राख्नु भएको छ ?

मेरो अभिलाषा एउटै कुरा हो कि सँधै म जनताको नजिक रहुँ । जनताले मलाई माया गर्दै रहुन् । जनताको विश्वास पात्र भएर काम गर्ने मौका पाइरहुँ । यहि नै मेरो अभिलाषा हो ।