काठमाडौँ– बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा बम विष्फोट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नयाँगाउँ नजिकै सडक किनारमा शनिवार राति विस्फोटक पदार्थ विस्फोट भएको हो ।
उक्त विस्फोटक पदार्थ द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको हुनसक्ने सुरक्षाकर्मी टोलीको अनुमान छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।
आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । विस्फोट राति भएका कारण मानवीय क्षति हुनबाट भने बचेको छ । दुर्घटना स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो फेला परेका छन् ।
बमको अवशेष पड्किएको हुनसक्ने निस्कर्ष निकालेपछि सडक विभागले उक्त खाडल पुरेको छ ।