काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरण रिसइबी र प्रतिशोधका कारण भएको पाइएको छ ।


ADVERTISEMENT


आरोपीले रिसइबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जान नदिन उनकै परिवारका अन्य तीन जनाको हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त घटनाको अनुसन्धानका लागि उनकै नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको थियो । कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको संयुक्त अनुसन्धानमा उक्त हत्या प्रकरणमा सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी संलग्न रहेको राठौरले बताए।

उनका अनुसार घटनापश्चात ट्याक्सी चढ्न लाग्दा फेला परेका दीपेन्द्र राई भने प्रहरीलाई घटनाबारे जानकारी दिन आउँदै गरेको खुलेकाले घटनामा उनको संलग्नता नरहेको पनि राठौरले बताए।

अनुसन्धानमा सञ्जयले एक्लैले घटना घटाएको स्वीकार गरेका पनि उनले बताए । उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ । उनी पक्राउ पर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला परेको प्रहरीले आज साँझ घटना विवरण सार्वजनिक गरेको छ ।

उनले केही समय अगाडि हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गई राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकोमा सोही रिसइबी/प्रतिशोधका कारण हत्या गरेको पाइएको छ ।

यही भदौ २९ गते नै मृतक विशाल राईलाई सिध्याइदिन्छु भन्दै भण्डारी आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर समिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसेका थिए । केही समयपछि विशाल राई आएर कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएको प्रहीले जनाएको छ ।

उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको । सो घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषा विज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो । रगत लतपतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दोष देखिएको राठौरले बताए ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ–३२ तीनकुनेस्थित गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले आज घटनाबारे जानकारी गराएको हो । रासस