काठमाडौँ — आज हरितालिका (तीज) । पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने भक्तजनको लाइन विस्तारै बढ्दै गएको छ ।
भक्क्तजनको लागि बिहान ३ बजेबाट पशुपतिनाथ मन्दिरको चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
हरितालिका तीज पर्वको सुरक्षा व्यवस्थापनमा पशुपतिनाथ मन्दिरमा २ हजार ९६६ जना प्रहरी खटिएका छन् । जसमा महिला सुरक्षाकर्मीको सङ्ख्या ६ सय ३० रहेको छ । प्रहरीका अनुसार प्रति सिफ्टमा १ हजार ४८३ जना प्रहरी खटिने छन् ।
पशुपतिनाथको मन्दिर परिसरमा तीज पर्व सम्पन्न नभएसम्म कमान्ड पोष्टको स्थापना गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले यसको कमान्ड गर्नेछन् ।
त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तीज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।
प्रहरीले चाडपर्व मनाउँदा आफू सुरक्षित रही अरूलाई समेत चाडपर्व मनाउने वातावरण बनाउन आग्रह गरेको छ । तीज पर्वमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न आग्रहसमेत गरेको छ । बहुमूल्य गरगहना लगाएर मन्दिर नआउन आग्रह गरिएको छ ।
त्यस्तै सहज दर्शन र मन्दिर र ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख रेवतीरमण अधिकारीले जानकारी दिए ।
त्यस्तै परिषद् सदस्य भरतप्रसाद बडालले धर्म गर्न आउनेले अरुलाई छल्ने भन्दा पनि अरुलाई सहयोग गर्ने भावनाका साथ प्रस्तुत हुनु पर्ने भन्दै एक अर्कालाई सहयोग गर्न आग्रह गरेका छन् ।