काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । हरितालिक तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । तिज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।