काठमाडौँ— नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले तत्कालीन विद्रोहमा सामेल भएकाहरूलाई अपराधिकरण गरे फेरि युद्ध लड्ने चेतावनी दिएका छन् ।
काठमाडौँमा शनिबार भएको एक कार्यक्रममा उनले परिवर्तनका लागि लड्नेहरूलाई दोषारोपण गरे फेरि लड्न तयार रहेको चेतावनी दिएका छन् ।
विप्लवले भने ‘जसले गर्दा देश आज यहाँ आइपुगेको छ । उनीहरूलाई अपराधिकरण गरेर, पूर्वाग्रह राखेर, सामान्य कार्यकर्तादेखि कमान्डरसम्म लाई दोषारोपण गरिन्छ भने त्यसको प्रतिवाद हामी गर्छौ । फेरि लड्न परे लडिन्छ तर सहिँदैन।’
उनले १० वर्षे सशस्त्र आन्दोलनलाई विभिन्न नाम दिने गरिएको भन्दै त्यसलाई उचित मूल्याङ्कन गर्न माग गरे ।
विप्लवले भने, ‘पहिलो न्याय १० वर्षे जनयुद्धलाई हुनुपर्यो, त्यो क्रान्ति हो कि होइन त्यसको न्वारन हुनुपर्यो । त्यो उग्रवादी समूहले लडेको लडाइ हो की नेपाली जनताले लडेको लडाइ हो । के हो त्यही लेख्नु पर्छ । जसले गर्दा देश आज यहाँ आइपुगेको छ ।’
संसद् भ्रष्टाचारीको अखडा बनेको उनको आरोप छ । ‘संसद् गफ गर्ने, जनतालाई ठग्ने, नक्कली कुरा गर्ने ठाउँ, तस्करहरूको अखडा हुनु भएन, भ्रष्टाचारीहरूको अखडा हुनु भएन, तर संसद्ले संविधानलाई कार्यान्वयन हुने तहमा ल्याउनु पर्छ,’ विप्लवले भने । उनले यो संविधान तुलनात्मक रुपमा प्रगतिशील रहेको बताए । ‘यो संविधानको अनुसन्धान भनेपनि यसको निर्माण भनेपनि १० वर्षको जनयुद्धको लडाइ, बलिदान, त्याग, अनुसन्धानसँग जोडिएको संविधान यो जरुर हो । त्यसकारण यो संविधान स्वभाविक ढङ्गले विगतका संविधानभन्दा प्रगतिशील छ र क्रान्तिकारी छ,’ विप्लवले भने ।
उनले संविधानमा भएको हरेक कानून व्यवहारमा व्यक्त हुनुपर्ने भन्दै यस्तो नभए संविधान कागजको खोस्टो बाहेक केही नरहने बताए ।
‘संविधान भनेको जनता, देश, परिस्थिति हो, यदि यसलाई जनतासँग अलग गर्ने हो भने त्यसको औचित्य समाप्त हुन्छ । नेपाली जनता र देशमा यो संविधान कति प्रतिबिम्बित भएको छ र यसले जनता र समाजलाई कति समातेको छ,’ उनले भने ‘त्यसका आकांक्षा चाहनाहरूलाई प्रतिनिधित्व गर्ने कसरी गरेको छ । त्योसँग जोडेर हेर्नुपर्छ त्यो हिसाबले यो संविधान ठिक छ तर जनताले जस्तो खालको संविधानको आशा राखेका थिए । त्यो पूरा हुन सकेको छैन् । यो संविधान अपूर्ण छ, यसलाई विकास गरेर पूर्णता दिएको संविधानको माग छ र त्यो पनि समयसापेक्ष हुनुपर्छ ।’