काठमाडौँ – विश्व पर्यटन दिवस दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार नेपालमा विश्व पर्यटन दिवस मनाइएको हो । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन् ।
त्यसलगतै ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ललितपुर महानगरपालिकाले विशेष समारोहको आयोजना गरेको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले नेपालको मौलिक संस्कृतिमार्फत पर्यटनलाई आकर्षित गर्नुपर्ने बताए । उनले हवाई क्षेत्रको विस्तार गरेर पर्यटनलाई सहज रुपमा आवागमनको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेको भन्दै उनले पारदर्शी ढंगले खरिद प्रक्रिया अघि बढाउने जानकारी दिए । त्यस्तै मन्त्री किरातीले पर्यटनसम्बन्धी कानूनलाई पनि समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गरे ।
कार्यक्रममा कार्यक्रममा पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थाका साथै पर्यटकहरुलाई सम्मान गरिएको थियो ।