काठमाडाैँ – दशैँ लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने मनसायले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को शुभारम्भ भएको छ ।


ADVERTISEMENT


चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच मेलालाई समुद्घाटन गरेसँगै “पर्व विशेष मेला–२०८०”  शुभारम्भ भएको हाे । चितवनको भरतपुरस्थित प्रदर्शनीकेन्द्रमा असोज ३० गते सम्म चल्ने मेलामा १५ देखि ५० प्रतिशत सम्म भारी छुटको अवसर रहेको बताइएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरु एउटै छानामुनी उपलब्ध हुने व्यवस्था मिलाईएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष कँडेलका अनुसार आर्थिक मन्दीको प्रभावका कारण उपभोगमा गिरावट आएकाे छ । त्यस्तै उद्योगीहरु उद्यमशीलताबाट नै पलायन भएको अवस्थाकाे चित्रण गरेका छन् । उनले स्वदेशी उत्पादनहरुको प्रबर्द्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउन स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्नपर्नेमा जाेड दिएका छन् ।

मेला अन्तर्गत पहिलो चरणमा नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशी जुत्ता–चप्पलको प्रदर्शनी तथा प्रबद्र्धन मेला सुरु भएको छ भने विभिन्न गार्मेन्ट उद्योगीहरुको सहकार्यमा मेलाको अन्तिम हप्ता लत्ताकपडाको स्टलहरु समेत राखिने लक्ष्य लिइएको छ ।

पर्व विशेष मेला २०८० को अवधि अन्तर्गत असोज २१ गतेदेखि घरयासी प्रयोजनमा धेरै परिमाणमा खपत हुने अनुमान स्वरुप अनिवार्य आवश्यकताका दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्रीहरुको बिक्री वितरणको व्यवस्था गरिएको बताईएको छ । । आम उपभोक्तालाई सहजीकरण गर्नका लागि आयाेजकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग समन्वय गरेकाे अध्यक्ष कँडेलले जानकारी दिए ।

मेलामा स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएका उद्यमीहरुसँग आवश्यक सहकार्य गरी दशैंका लागि आवश्यक पर्ने खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलको समेत व्यवस्था गरिएको छ । संघका वस्तुगत सदस्यहरुसँगको सहकार्यमा मेला अवधिमा फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरु, खाद्यान्नका परिकारहरुका स्टलहरु समेत राखिने छ । यस्तै, संघले प्रत्येक शनिबार सञ्चालन गरिरहेको स्थानीय, रैथाने उत्पादनहरुको प्रबर्द्धनका लागि पर्व मेला अवधिका शनिबारहरुको हकमा शनिबारे मेला दिनभर सञ्लालन गरिने समेत आयोजकको भनाई छ।

कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्व मेलाले स्थानीय ग्राहकहरुको मागलाई पूरा गरी ग्राहकहरुको मन जित्नेमा विश्वास व्यक्त गरेका छन् । उनले मेलामा राखिने सामग्रीहरुको मूल्य निर्धारण, गुणस्तर लगायत आर्थिक हरहिसाबलाई पारदर्शी तरिका राखी कारोबार गर्न मेलाका प्रदर्शकहरुलाई आग्रह समेत गरेका छन् ।

यस्तै, मेलाको सह–आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पर्व मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशीमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहित गर्न सहयोगी हुने बताए ।

उनले मेलाको माध्यमबाट सम्भव भएसम्म उत्पादक तथा उपभोक्ता र सरोकारवालाहरुबीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादित बस्तुहरुको बजारिकरणको प्रवर्द्धन हुने विश्वास समेत ब्यक्त गरेका छन् ।

करीब २ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता/ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करीब १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

मेलामा जिल्लाभित्रका तथा बाह्य जिल्लाका हजारौंले अवलोकन गर्ने हुँदा भरतपुर भ्रमण वर्ष २०२४ लाई आन्तरिक पर्यटक आकर्षण गर्न सहयोगी हुने आयोजकको दावी छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला हरेक दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा छ ।