काठमाडौँ– लामो समयदेखि रोकिएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित भएको छ ।
विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा अन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिङ्गो ठड्याइएको हो ।
आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि शुुरु भएको हो । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुन सुरु गरिएको काठमाडौं महानगर–१२ का वडाध्यक्ष एवं जात्रा व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले जानकारी दिए ।
ि
लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको उनले बताए । रञ्जीतकार समूदाय, स्थानीय र सवैको सहयोगमा यस बर्ष लिङ्गो ठडाउन सफल भएको भन्दै उहाले आवश्यक बजेट भए पुराना जात्रा संस्कृतिलाई निरन्रता दिन सकिने धारणा राखे ।
यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ । अष्टमीका दिन दशैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ ।