– नन्दी केशर पौड्याल


ADVERTISEMENT


नेपालजस्तो उधारो कारोबारमा चलेको मुलुकमा एकपटक एकजना विदेशी व्यापारी आएछन् । केही समय नेपालमा बस्ने र उपयुक्त हुने देखिएमा व्यापार व्यवसाय गर्ने उद्देश्यले एउटा ठूलो होटेलमा बस्नको लागि पुगेछन् । व्यापारी अलि लामो समय बस्नुपर्ने भएकोले होटेलका कोठा र सुविधा निरीक्षण गरेर मात्र पक्का गर्ने भनेर केही रकम होटेलको काउन्टरमा धरौटी स्वरूप जम्मा गरेर हेर्नतिर लागेछन् ।


ADVERTISEMENT

# # #


यता होटलवाला साहुले भने रकम हात पर्ने बित्तिकै आफूले तिर्न बाँकी रहेको दूधवालालाई उक्त रकम दिएछन् । दूधवालाले दाना फ्याक्ट्रीवालालाई तिर्नु रहेछ र हात पर्ने बित्तिकै उक्त रकम दाना फ्याक्ट्रीवालालाई पठाएछन् । फेरि दाना फ्याक्ट्रीवालाले सोही होटलको साहुलाई तिर्नुपर्ने रहेछ र तुरून्त होटेल साहुलाई दिएछन् । होटलमा बस्न आएको पाहुना व्यापारीलाई होटलका कोठा निरीक्षण गर्दा उपयुक्त लागेन छ र अन्तैतिर जाने भनेर काउन्टरमा जम्मा गरेको रकम फिर्ता मागेछन् । त्यतिन्जेलसम्म उक्त रकम घुमेर होटेलमा नै आई पुगिसकेको रहेछ र तुरून्त फिर्ता पनि गरिदिए छ।

यसरी कारोबार उधारोमा चलेको हुँदा कुनै एक ठाँउमा अबरुद्ध हुँदा त्यसले धेरै ठाउँमा असर पुर्याएको हुन्छ । नेपाल पनि अहिले त्यही अवस्थामा छ । कृषि उत्पादन, साना तथा मझौला उद्योगदेखि उत्पादनका खाद्य, सिमेन्ट, फलाम, इँटादेखि पेय पदार्थसम्मको कारोबारमा असामान्य उधारोका कारण उद्योग र व्यवसाय चौपट भईसकेका छन् । उधारो कारोबारले धेरै मान्छेलाई रुवाएको छ ।

नगदमा किनेर ल्याएको वा ऋण गरेर उत्पादन गरेको वस्तु ६ महिना देखि एक वर्षसम्म उधारोमा बिक्री गर्नुपर्दा व्यवसायी–उद्योगी सारै समस्यामा परेका छन् । उधारो, सापटीको कुनै सीमा नै भएन, मनपरी भयो, वर्षदिनसम्म उधारो राखेपछि व्यवसायीलाई नाफा कति, राज्यलाई कर कति ? उपभोक्तालाई सहुलियत कति ?’ ‘उधारो नदिई व्यवसायमा कारोबार भयो भने त २ प्रतिशत नाफामै व्यवसायी बस्न सक्छन् ।

यस्तै नेपालमा आजभोलि देशभित्रै घुम्नुपर्ने रकम चोइटिँदै चोइटिँदै विभिन्न बहानामा दुबईमा, कतारमा, जापानमा, भारतमा पुग्ने गरेको देखिन्छ । जस्तै आयात हुने वस्तु कम मूल्यका भए पनि ठूला ठूला व्यापारीले मूल्य बढाएर आयात गर्ने र पठाएको बढी रकम सोही देशमा व्यापार गर्ने गरेको देखिन्छ । चीनबाट आएका  उद्योगका मिल मेसिनरी पनि त्यसैगरी बढी मूल्यांकनमा आयात गरी डलर लगेको देखिन्छ । तर, यस्ता विषयमा नेपाल सरकार भने मूकदर्शक भएको देखिन्छ ।

यस्ता कार्य बन्दै गरेका नयाँ होटेलहरुमा पनि भएको देखिन्छ । यस्तै खाले क्रियाकलापहरूले नेपाली अर्थतन्त्र धराशायी बन्दै गएको हो । नेपाली रुपैयाँ भारतीय सीमा क्षेत्रका बजारमा प्रशस्त पाईन्छ । यी सब क्रियाकलापहरुलाई नेपाल सरकारले सूक्ष्म रुपमा हेर्न नसकेको देखिन्छ । बजार चलयमान नै हुन सकिरहेको छैन । फलस्वरूप राजस्व असुलीमा कमी आएको छ । राजस्व संकलन वृद्धि हुन अर्थतन्त्र चलायमान हुनैपर्छ ।