काठमाडौँ – गौरीराज जोशीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा उम्मेदवारी दिएका छन् । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौँमा हुने ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि जोशी पुनः महासचिवको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघि महासचिव निर्वाचित भएर एक कार्यकाल पूरा गरिसकेका उनले एनआरएनएलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन पुनः महासचिवमा भिड्न लागेको बताएका छन् । यस्तै यसअघि पहिलो कार्यकालमा सम्पन्न गर्न बाँकी रहेका काम पूरा गर्न पनि आफू महासचिवमा दोहोरिएको उनले बताए ।
जोशीले भने, ‘गैर आवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नका लागि १० प्रतिशतमा लगानी गर्न दिने कुरा छ । त्यसलाई पारदर्शी र लगानीमा प्रतिफल हुने खालका परियोजनामा फोकस गर्ने कुरामा ध्यान दिन जरुरी छ।’
साथै उनले एनआरएनएको महाधिवेशन प्रतिनिधिको समस्यालाई समेत समाधान गर्न आफू लागि पर्ने बताए । उनले भने, ‘डेलिगेट्स सिस्टमलाई सदाको लागि समाधान गर्नुपर्ने देखिन्छ । एनसिसीबाट आएको सल्लाह सुझाव र अभियन्ताबाट आएको सल्लाह अनुसार डेलिगेट्स सिस्टमलाई पुर्नसंरचना गर्नुपर्ने आश्यकता छ ।’
यस्तै नेपालमा गैरआवासीय नेपालीले गर्ने लगानीलाई पारदर्शी र प्रतिफलमैत्री बनाउनका लागि आफू सक्रिय हुने उनको भनाई छ ।