राहुल गुप्ता, महोत्तरी – मधेश प्रदेशमा “सीमाबासी सँग सशस्त्र प्रहरी ” कार्यक्रम सुरु भएको छ । मधेश प्रदेशको जिम्मेवारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनीको आयोजनामा बाहिनीको मुख्यालय बर्दिवासबाट उक्त कार्यक्रम सुरु भएको हो ।


ADVERTISEMENT


जस अनुसार बुधबार सीमा सुरक्षाको महत्व तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा मधेश प्रदेशको जिम्मेवारी भएका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहले राज्यले दिएको कार्यादेश अनुसार सशस्त्रका लागि देशको अन्तर्राष्टिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए । उनले सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा जोडिएका १४३ वटा वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको जनाए ।


ADVERTISEMENT

# # #


उनले यसलाई थप प्रभावकारी बनाउन “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रम आरम्भ गरेको समेत जानकारी गराए । कार्यक्रम अन्तर्गत सीमा सुरक्षाको महत्व तथा सीमा अपराध, विभिन्न प्रकारका विपद्जन्य घट्ना सम्बन्धी जनचेतनामूलक कक्षा संचालन, दशगजा ईलाका तथा सीमा स्तम्भहरुको अनुगमन, सीमा अपराधसम्बन्धी अन्तरक्रिया, लागु औषध नियन्त्रण, सामाजिक तथा विकासका कार्यहरु सञ्चालन, स्वास्थ्य शिविर तथा सीपमुलक तालिम संचालन लगायत अन्य विविध कार्यक्रमहरु सञ्चालन गरिने नीति रहेको बताए ।

कार्यक्रम नेपालको सीमावर्ती सबै इलाकामा सुरु गरिए पनि मधेश प्रदेशलाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल आएको भन्दै उनले दाहालको उपस्थितिले मधेश प्रदेशको सीमावर्ती क्षेत्रका जनताको भावना र परम्परागत संस्कृतिलाई उच्च स्थानमा राखेको पुष्टी भएको बताए ।

डीआईजी शाहले सीमामा बसोबास गर्ने नागरिक एक असल सीमा रक्षक रहेको बताउँदै उनले नागरिकसँग निरन्तर सम्पर्क र समन्वयले सीमा सुरक्षा व्यवस्थापन, मजबुद एवम् प्रभावकारी हुने विश्वास व्यक्त गरे । सीमा क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुबाट सीमा सुरक्षा व्यवस्थापनमा भएको समन्वय र सहकार्यको प्रशंसा गर्दै उनले नेपाल सरकारले सीमा स्तम्भ मर्मत गर्ने जिम्मा सशस्त्र प्रहरीलाई प्रदान गरेको र सो कार्य चाँडै सुरु हुने बताए ।

कार्यक्रममा उपस्थित मधेश प्रदेश अन्तर्गत अन्तराष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापन कार्यमा भईरहेका गतिविधिको सराहना गरे । साथै सीमामा देखापरेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाईको सम्बोधनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।