काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । कार्तिक २२ गतेदेखि हुने भनिएको राष्ट्रपतिको भ्रमण अनुपयुक्त परिस्थितिका कारण स्थगित भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जनाएका छन् ।
उनका अनुसार राष्ट्रपति आफैले यो निर्णय गरेका हुन् । राष्ट्रपति पौडेल कार्तिक २२ गते फ्रान्स जाने तालिका थियो । उनी त्यतैबाट जर्मनी र इटाली भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।
सोही अनुसार मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको थियो । तर, कार्तिक १७ गते जाजरको केन्द्रबिन्दू बनाए ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा नराम्रोसँग जनधनको क्षति पुर्याएपछि उनको भ्रमण स्थगित गरिएको हो ।
राष्ट्र शोकमा रहेकाबेला राष्ट्रपतिले विदेश भ्रमण गर्न नहुने भन्दै चौतर्फी दबाब सिर्जना भएको थियो । सोही अनुसार राष्ट्रपति कार्यालयले भ्रमण स्थगित गरेको हो ।