काठमाठौँ – सरकारले निर्माणधीन तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय गरेको हो ।
क्रििकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले बताइन् । ‘मोरङको विराटनगर, काठमाडौँको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउने भन्ने निर्णय भएको छ ।’ उनले भनिन्, ‘अहिले नेपाली खेलाडीहरुले क्रिकेटमा राम्रो प्रदर्शन गर्नुभएको छ । त्यसको विषयमा पनि गम्भीरतापूर्वक छलफल भयो ।’
सरकारले यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रीकालीन खेलका लागि फ्लड लाइट जडान गर्ने कार्य अघि बढाएको छ । जसका लागि बोलपत्र आह्वान भएर कम्पनीको समेत टुंगो लागिसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
नेपालले भर्खरै मात्रै काठमाडौँमा सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा उपविजेता बन्दै आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुन सफल भएको थियो । नेपालले १० वर्षपछि विश्वकपमा स्थान बनाएको हो ।
नेपाली क्रिकेटले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेकाले सरकारललाई समेत यसको विकासमा ध्यान गएको छ ।