काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा दुई देशका बीचमा आपसी हित प्रवद्र्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।


ADVERTISEMENT


अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिएको कुरामा जोड दिए । उनले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेकोसमेत बताए । “हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ”, उनले भने, “एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौँ ।”


ADVERTISEMENT

# # #


यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणका क्रममा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गरे । सो अवसरमा उनीसँग सचिव वाङले पनि शिष्टाचार भेटघाट गर्नुरेका थिए ।

उनले आफ्नो भ्रमणका क्रममा सीमानाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकामा धन्यवाद दिँदै सुन्तला जातका फलफूलको निकासी गर्ने वातावरण बनाउन तथा चीनको सहयोगमा बनेको पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र साङ्घाइबाट सिधा उडान गर्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा जलविद्युत्, कृषि उत्पादन, फर्निचर उत्पादनलगायतका उद्योगमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएकाले त्यसका लागि वातावरण बनाउन दुवै देशले पहल गर्ने विश्वास व्यक्त गरे । हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीनले पुर्याएको सहयोगका लागि धन्यवादसमेत दिए ।

सो अवसरमा सिपिसीका तिब्बत सचिव जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनःनिर्माणको काममा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाए । उनले नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने उल्लेख गर्दै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका छन् भने ।

उनले तिब्बत सरकारले पनि पुनःनिर्माण र राहतमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए । ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएकाले छिट्टै ल्हासा–काठमाडौँ उडान सञ्चालन हुने जानकारी दिए । रासस