काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका लागि बुधबार त्यसतर्फ जाने भएको छ ।


ADVERTISEMENT


उच्च स्तरीय प्रतिनिधिमण्डलसहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा भारतले सीमा मिचेको स्थानको अवलोकनका लागि जान लागेको नेविसंघ अध्यक्ष नैनसिंह महरले हिमालय पोष्टलाई जानकारी दिए । अबलोकनपछि समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिने र भारत सरकारलाई राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउने पनि उनले बताए ।


ADVERTISEMENT

# # #


दीर्घकालीन समाधानका लागि बंगलादेश र भारतको जस्तै वैज्ञानिक सीमाङ्कन पद्धती अपनाउनुपर्ने भन्दै उनले बारम्बार सीमा मिचिरहने भारतीय प्रवृत्ति नेपाली युवाहरुका लागि सैह्य नहुने चेतावनी दिए । ‘जसरी भारत स्वतन्त्र देश हो, त्यसरी नेपाल पनि स्वतन्त्र देश हो । नेपालप्रतिको हेपाहा प्रवृत्तिले भारत स्वयमंको पनि भलो गर्दैन’ उनले भने, ‘नाकाबन्दीले टाढिएको नेपाल–भारत सम्बन्ध सुमधुर बन्न लागेका बेला सीमामा निहुँ खोज्नु राम्रो होइन।’

नेविसंघले यस अघि पनि नेपाली सीमाको रक्षा गर्नभन्दै काठमाडौँमा र्याली निकालेको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको स्थानीयवासीले दाबी गर्दै आएका छन् ।

सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा ५० विगाहा जमिन भारतले आफ्नोतर्फ लिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।